राजनीतिको रिस जमिनमा पोखियो !


नेपाल समाचारपत्र, रौतहट ।

स्थानीय रूपमा सँधियारहरु मिलेर जमिन कित्ताकाट गरी बसोवास गर्दैआएकोमा दलीय राजनीतिक दाउपेचका कारण नापी कार्यालय चन्द्रनिगाहपुरमा छिमेकीहरु मुद्दा खेपिरहेका छन् ।

कटहरिया नगरपालिका–२ निवासी रवीन्द्र शाह कलवार तथा दुर्गादेवी सिंह र कमलादेवी सिंहको हथीयाई–४ (ख) जमुनियास्थित कित्ता नम्बर ७३ को १ कट्ठा ४ धुर जमिन दुवै पक्षले मिलेर नै भोगचलन गर्दैआएको तर एमाले र नेका पक्षले सँधियारलाई उक्साएपछि मुद्दा नापी कार्यालयमा पुगेको कलवार बताउनुहुन्छ ।

आफ्नो नामको जमिन कलवारको नाममा कित्ताकाट भएपछि संशोधनका लागि नापी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिँदासमेत बेवास्ता भएको गुनासो सिंहद्वयको छ भने कलवार ‘दुर्गादेवी र कमलादेवीको परिवारसँग घरायसी सल्लाह गरेर नै उनीहरुलाई पनि सडकतर्फको भाग पर्नेगरी जमिन छोडेर घर बनाएको हुँ, तर अहिले उहाँहरु कुरा फेरिरहनुभएको छ, बनिसकेको पक्की घर बोकेर म अब कहाँ जाऊँ ?’ भन्दै प्रश्न गर्नुहुन्छ ।

कलबारका दाजु एमाले पार्टीका तर्फबाट स्थानीय वडाअध्यक्ष हुनुहुन्छ भने सिंह परिवार नेपाली कांग्रेस समर्थक रहेको छ । कलवार भन्नुहुन्छ, ‘पहिला ऐलानी जमिन हुँदादेखि नै हामीले भोगचलन गर्दैआएका हौं, बीचमा नापी कार्यालयले सडक तर्फको मोहडा सबै मेरो नाममा र पछाडिको भाग सिंहको नाममा हुनेगरी कित्ताकाट गरिदियो, छिमेकीलाई नोक्सान पार्नुहुन्न भनेर मैले उनीहरुलाई पनि सडक मोहडा पर्नेगरी पुनः कित्ता काट गर्नलगाएँ, हामी मिलेरै भोगचलन गर्दैथियौं, तर नेका पक्षले सँधियारलाई उचालिदिएपछि बेकारमा मुद्दा खेप्नुपरेको छ ।

कलवार सिंह परिवारले फर्जी कागजातको आधारमा मुद्दा दिएको दाबी गर्दै भन्नुहुन्छ, ‘२०४० सालमा १ कठ्ठा ४ धुरमध्ये साढे १० धुर मेरो नाममा कित्ता काट भएपछि बाँकी साँढे १३ धुर बच्छ, उहाँहरुले २०६६ सालमा १६ धुर जग्गा देखाउँदै कागज बनाउनुभएको छ, हिसाबै मिल्दैन, त्यसैले उहाँहरुको कागज नै फर्जी छ ।’

उता सिंह परिवारको भनाइमा, साविक हथियाई गाविस–६ मा रहेको उक्त जमिनलाई नापी कार्यालयका कर्मचारीको मिलोमतोमा गलत किसिमले कलवारको नाममा कित्ताकाट गरिएको हो । नापी कार्यालय चन्द्रनिगाहपुरका अमिन धनवीर चौरसियाले कित्ताकाट गर्दा प्रमुखको निर्देशनमा गरेको बताउनुभएको छ । नापी कार्यालय चन्द्रनिगाहपुरका अमिनले आर्थिक चलखेल गरेर कित्ताकाट गरेको दुर्गादेवी सिंह दाबी गर्नुहुन्छ । कित्ताकाट गर्दा गुमेको आफ्नो जमिन

फिर्ताका लागि तीन महिनादेखि नापी कार्यालय चन्द्रनिगाहपुर धाउँदासमेत बेवास्ता गरेको गुनासो सिंह परिबारको छ । नापी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सविन विक कित्ताकाट गर्दा भुल भए पनि भौतिक संरचनाको निर्माण भएकाले केही गर्न नसकिने बताउनुहुन्छ ।