लायन्सको अधिवेशनलाई लक्षित गरी ‘आकर्षक प्याकेज’ 


कास्की ।

आगामी माघ २९ गते पोखरामा हुने डिष्ट्रिक ३२५ बी१ नेपालको १० औँ जिल्ला अधिवेशनलाई लक्षित गरी यहाँको पर्यटन व्यवसायीले आकर्षक प्याकेजको तयारी गरेका छन् ।

लायन्सको जिल्ला अधिवेशनका क्रममा गण्डकीका ११ वटै जिल्ला सहित काठमाडौं, नुवाकोट, धादिङ, गुल्मी र अर्घाखाँची जिल्लाबाट करिब छ हजार प्रतिनिधि पोखरामा सहभागी बन्दैछन् । अधिवेशनलाई भव्य एवम् सभ्य रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ महाधिवेशन मूल आयोजक समितिले पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधिसँग सोमबार गरेको छलफलमा पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले लायन्स प्रतिनिधिका लागि होटेल संघका तर्फबाट ३० प्रतिशतसम्म छुट दिने बताउनुभयो । पोखराका अन्य पर्यटकीय गतिविधिका लागि पनि सम्बद्ध निकायसँग छुटका लागि पहल गरिने उहाँले बताउनुभयो ।

“प्याकेजसँगै छ हजार जना प्रतिनिधि र उहाँहरूसँग अन्य परिवारका सदस्य समेत आएका अवस्थामा त्यसले पोखरामा पर्यटकको सङ्ख्या बढ्ने निश्चित छ”, उहाँले भन्नुभयो, “यति ठुलो कार्यक्रम पोखरामा हुँदा त्यसले यहाँको आन्तरिक पर्यटनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौँ ।

”छ हजारको सङ्ख्याका प्रतिनिधि सहभागी हुने लायन्सको जिल्ला अधिवेशन यहाँको आन्तरिक पर्यटन विकासका लागि महत्त्वपूर्ण बन्ने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् गण्डकी प्रदेशका महासचिव कमला गिरीले बताउनुभयो । कोरोनाले थला परेको पर्यटनलाई यस किसिमका कार्यक्रमले केही न केही राहत पुग्ने बताउँदै उहाँले पर्यटन सम्बद्ध संघ संस्थाले यसलाई अवसरका रुपमा लिँदै दिन सकिने सुविधाका प्याकेजका लागि तयार हुनुपर्ने बताउनुभयो ।

गाउँ पर्यटन प्रवर्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले पोखरामा हुने यस किसिमका कार्यक्रमले यहाँको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले अधिवेशनका क्रममा आउने प्रतिनिधिलाई संघ आवद्ध पर्यटक यातायातमा २० प्रतिशतसम्म छुट दिन सकिने धारणा राख्नुभयो ।

उक्त अवसरमा जिल्ला अधिवेशन मूल समारोह समितिका संयोजक डम्बर सिं गुरुङ, सह–संयोजक मिलन थापा, मोतीराज तिमिल्सिना, पूजन शाक्य लगायत पदाधिकारी एवम् सल्लाहकार धु्रब श्रेष्ठ, विमला श्रेष्ठ लगायतले लायन्स अधिवेशनका सम्बन्धमा जानकारी गराउनुभयो ।पोखरास्थित लायन्स क्लब अफ पोखरा अन्नपूर्णको अगुवाइमा यहाँका अन्य पाँचवटा लायन्स क्लब पोखरा गण्डकी, पोखरा सेती गण्डकी, हेम्जा, पोखरा युनाईटेड चौतारी र पोखरा लेखनाथले पोखराका अन्य क्लबसँगको सहकार्यमा अधिवेशन सम्पन्न गर्न लागिएको मूल आयोजक समितिका संयोजक मधुसूदन कोइरालाले जानकारी दिनुभयो ।