टेलिकमको निमित्त प्रवन्ध निर्देशकमा बैद्य



काठमाडौं (नेस) ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भईनसकेको अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कम्पनीका नायब प्रबन्ध निर्देशक वैद्यलाई निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकेको छ ।

उहाँले कम्पनीको नायब प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आउनु भएको थियो भने सोमबारदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको छ ।

सरकारको योजना तथा कार्यक्रमलाई सहयोग हुने कार्यक्रमहरू, कम्पनीको सञ्चालक समितिको निर्णय र मार्ग निर्देशनहरू तथा नियामक निकाय लगायत अन्य सरोकारवालाको तर्फबाट प्राप्त हुने सल्लाह, सुझाव, गुनासाहरू छिटो/छरितो तथा उचित रूपले सम्बोधन गर्ने कार्यमा सबै निर्देशनालय, विभाग, कार्यालयमा कार्यरत कर्मचारी मित्र तथा कम्पनीमा क्रियाशील ट्रेड युनियनका मित्रबाट विगतमा जस्तै सहयोग प्राप्त हुने अपेक्षा गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक बैद्यले कम्पनीको प्रगतिका लागि एकजुट भई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्