परिचयपत्रका लागि आठ हजारले गरे विवरण दर्ता



लमजुङ ।

लमजुङमा ८ हजार २ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि राष्ट्रिय परिचयपत्र बनाउन शुरु भएको हो ।

४ हजार ७ सय २८ पुरुष र ३ हजार ५ सय ४१ जना महिलाले राष्ट्रिय परिचयपत्र बनाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रले बताउनुभयो । चालू आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि हालसम्म २ हजार ८ सय ८९ जनाले जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जसमध्ये १ हजार ७ सय २९ जना पुरुष र १ हजार १ सय ६० जना महिला रहेका छन् । सूचना अधिकारी मिश्रका अनुसार गत आर्थिक वर्षमा ५ हजार ३ सय ८० जनाले राष्ट्रिय परिचयपत्र बनाएका थिए । जसमध्ये २ हजार ३ सय ८१ महिला र २ हजार ९ सय ९९ पुरुष रहेको उहाँले बताउनुभयो ।

चार–चार महिनामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनिए तापनि हालसम्म सबै नागरिकले परिचयपत्र प्राप्त गर्न नसकेको मिश्राको भनाइ छ । लमजुङमा डेढ वर्षअघि गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारीले राष्ट्रिय परिचयपत्र बनाउँदै अभियानको शुरुशात गर्नुभएको थियो । सोही समयदेखि राष्ट्रिय परिचपत्रका लागि नाम दर्ता गराएका नागरिकले अहिलेसम्म पनि राष्ट्रिय परिचयपत्र पाएका छैनन् ।

१६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन पाउने छन् । परिचयपत्रमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) गरी दुई विवरण ‘इन्ट्री’ गरिनेछ । नेपाल सरकारले राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकता अनिवार्य चाहिने र राहदानी निकाल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्