बेत्रावतिमा ३० हजारभन्दा बढीले गरे श्राद्ध



रसुवा ।

रसुवा र नुवाकोटको संगमस्थल बेत्रावति धाममा ३० हजारभन्दा बढी नागरिकले श्राद्व गरेका छन् । पौष शुक्ल औंसीमा यहाँ मुलुकको विभिन्न स्थानबाट आएर दिवंगत पितृको श्राद्ध गर्ने चलनरही आएको छ ।

बेत्रावतिलाई उत्तर गयाको नामले समेत परिचित छ । चार धाममध्येको एक धामका रूपमा रहेको यस धाममा ३० हजारभन्दा बढीले तर्पण, पिण्डदान आदि गरेको स्थानीय समाजसेवी शशी डंगोलले बताउनुभयो । पुराणका अनुसार महादेवले कालकुट बिषको राप शान्त पार्न भौंतारिएर हिँडेका बेला त्रिशूल प्रहार गरी उत्पन्न भएको त्रिशूली नदी र महादेवले नै वेदको लौरोले खोपेर उत्पत्ति भएको वेत्रगंगास्थित फलाखु खोलाको संगमस्थल समेत भएकाले यस ठाउँलाई पवित्र भुमिका रूपमा लिइने पुस १८ गते श्राद्व गर्न आएका सुन्दर श्रेष्ठ बताउनुहुन्छ ।

आफ्नो दिवङ्गतका नाममा श्राद्व गरी बेत्रवतिमा पिण्ड सेलाउँदा पितृको स्वर्गमा बास हुने जनविश्वास छ । उत्तरगयामा २०४९ सालमा योगि नरहरि नाथले कोटी होम लगाएपछि बेत्रावतिको महत्व बढको उहाँको कथन छ ।

यस उत्तरगया धाममा हरेक जातजातिले पुसे औंसीमा श्राद्ध गर्ने, गाईजात्रामा लाखे नाच गर्ने, ठूलो एकादशीमा फूलको डोली ल्याउने र भजनकीर्तन गरी नदी तार्ने, माघेसंक्रान्तिमा गोरू जुधाई गर्ने, फागु पुर्णिमामा सामूहिक भागु खेल्ने, रामनवमि र कृष्ण जन्माष्टमिमा विशेष मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्