चिकित्सक अभावमा सुत्केरी सेवा बन्द



रामेछाप, (नेस) ।

जिल्लाको एकमात्र शल्यक्रियसहितको सुत्केरी सेवा एक वर्षदेखि बन्द छ । मन्थली प्राथमिक स्वास्थ्य चौकीमा सञ्चालन भएको बर्थिङ सेन्टर चिकित्सक अभावमा बन्द भएको हो । बर्थिङ सेन्टर बन्द हुँदा जटिल खालको प्रसूति गराउन जिल्लाबाहिरै जानुपर्ने अवस्था कायमै छ । २०७७ साउनदेखि बन्द भएको शल्यक्रियासहितको सुत्केरी सेवा अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

२०७३ वैशाखबाट शुरु भएको यो सेवा चिकित्सकले काम छाडेपछि बन्द भएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयालले बताउनुभयो । सामान्य रूपमा सुत्केरी हुन नसकेका महिलाको शल्यक्रिया गरेर बच्चा निकाल्ने यो सेवा बन्द हुँदा रामेछाप, ओखलढुंगा, सिन्धुली र दोलखाका गर्भवतीको शल्यक्रिया गर्नुपर्दा धुलिखेल पुर्याउनुपर्ने बाध्यता छ । जसले गर्दा महिलाको बाटैमा ज्यान जाने खतरा बढेको छ ।

सो सेवा सञ्चालनका लागि पहल भइरहेकाले अझै केही समय लाग्ने उहाँ बताउनुहुन्छ । नगर पालिकाले पटक–पटक पदपूर्तिको सूचना निकाल्दा पनि चिकित्सकको नियुक्ति गर्न नसकेको फुयाँलको भनाइ छ । सेवा सञ्चालन हुँदा १ सय ६३ जनाले शल्यक्रियासहितको सुत्केरी सेवा लिएको प्राथमिक स्वास्थ्य केन्द्र मन्थली रामेछापको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्