बेंसीशहरको वडा नम्बर ६ बालमैत्री घोषणा



लमजुङ ।

लमजुङको बेंसीशहर नगरपालिकाको वडा नम्बर ६ मध्यडाँडालाई बालमैत्री वडा घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमका बीच उक्त वडालाई बालमैत्री वडाका रूपमा घोषणा गरिएको हो । गण्डकी प्रदेशसभाका उपसभामुख सिर्जना शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख शर्माले आजका बालबालिका भोलि देश निर्माणका पहरेदार हुने भएकाले बालबालिकालाई राम्रो वातावरण दिनुपर्ने बताउनुभएको थियो । प्रदेश सरकारले बाल अधिकारसम्बन्धी विधेयक निर्माण गरिसके पनि कानुन अझै नबनेको भन्दै उहाँले भननुभयो– ‘संघ स्थानीय तहसँग नबाझिने गरी छिट्टै कानुन बनाउँछौं ।’

कार्यक्रममा बालमैत्री स्थानीय शासनका आधारभूत सूचकहरु पूरा गरी वडालाई बालमैत्री वडा घोषण गर्ने अभियानमा महत्वपूर्ण सहयोग गरेको भन्दै आरसीडीसी लमजुङ, वल्डभिजन, स्थानीय आमा समूह, विद्यालय तथा बाल सञ्जाललगायतलाई सम्मान समेत गरिएको थियो ।

बालमैत्री वडा घोषणा गर्नका लागि केही मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ । बालबालिकामैत्री वडा हुन बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबलिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्मदर्तालगायतका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिअनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ३९ वेटा सूचक पूरा गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्