दश कर्मचारीको एकैपटक सरुवा, कामकाज प्रभावित



बैतडी ।

बैतडीको दोगडाकेदार गाउँपालिकाका १० जना कर्मचारीको एकैपटक सरुवा गर्दा पालिकाको कामकाज प्रभावित भएको छ । स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीहरूलाई उनीहरुको निवेदनका आधारमा कामकाज गर्ने गरी अर्को स्थानीय तहमा खटाउने निर्णय भएसँगै कर्मचरीहरुको सरुवा भएको थियो ।

कर्मचारीहरुको एकैपटक सरुवा हुँदा कामकाज प्रभावित भएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘एकैपटक बढी संख्या कर्मचारीको सरुवा हुँदा सेवा प्रभावमा केही समस्या भएको छ ।’ लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भई नियुक्त भएका स्थानीय तहका कर्मचारीलाई मात्रै मन्त्रालयले सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको काज सरुवाको निर्णय गरेसँगै यहाँका ५ वडा सचिव, १ जना इन्जिनियर, २ जना सब–ओभरसियर, १ जना कम्युटर अपरेटर र १ जना आन्तरिक लेखा परीक्षकको सरुवा भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र धामीले बताउनुभयो । स्थानीय तहका कर्मचारीको सरुवासम्बन्धी कानुनी व्यवस्थाको अभावका कारण अहिले अन्तरस्थानीय तह कामकाजमा खटाइएको भनी निर्णय भएको उहाँले जनाउनुभएको छ ।

कर्मचारी सरुवा भएसँगै यहाँका ७ वडा सचिवविहीन भएका छन् । गाउँपालिकामा रहेका ८ वडामध्ये वडा नम्बर १ बाहेक अन्य सबै वडा सचिवविहीन भएका हुन् । वडाहरुमा सचिव नहुँदा वडाको कामकाज पनि प्रभावित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्