चराचुरुङ्गीको आकर्षणको केन्द्र बन्दै लुम्बिनी



काठमाडौं ।

लुम्बिनी बौद्धमार्गीको आकर्षणको स्थल मात्र नभई चराचुरुङ्गीको पनि आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । लुम्बिनीको शान्त वातावरण, हरियाली वनस्पती, फूल बगैंचा, नहर र पोखरी आदिले गर्दा लुम्बिनीमा चराचुरुङ्गीको आकर्षण बढेको हो । लुम्बिनीमा २ सय ९० प्रजातिका चराचुरुङ्गी छन् । कतिपय चरा रैथाने छन् भने कतिपय बसाइँसराइ गरेर आउने गरेका छन् । विशेष गरी जाडोयाममा अत्यधिक चिसो हुने स्थान साइबेरिया, मंगोलिया, काजकिस्तान, तुर्कमेनिस्तान, तिब्बतसम्मका चरा लुम्बिनीको न्यायो घाममा जलचर गर्न आउने गरेको पाइएको छ ।

आगन्तुक चरामा मरुन सुनजुरेहास, खडरवर्ड, काली जुरे, मालक आदि रहेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिनुभयो । लुम्बिनी विकास कोषले गुरुयोजनामा १.३ किलोमिटरलाई केन्द्रीय नहर, सर्कुलर लभीको गोलाकार पोखरी र प्रत्येक विहार क्षेत्रमा चराको बासस्थान र आकर्षण बढाउन सुन्दर पोखरीको निर्माण गरेको छ ।
लुम्बिनीको अर्को सुन्दर पक्ष यहाँ पाइने दुर्लभ प्रजातिका चरा (क्रेन) पनि रहेको उहाँ बताउनुहुन्छ । यसका लागि गुरुयोजनाअनुसार लुम्बिनी एक सय हेक्टर भूमिलाई सारस संरक्षणका लागि सीमसार क्षेत्र बनाइएको छ । जसलाई अमेरिकन क्रेन फाउन्डेसनको सहकार्यमा सारस संरक्षणको प्रयासको थालनी गरिएको छ । लुम्बिनीभित्र र बाहिरी ग्रामीण क्षेत्रमा करिब पाँच सय सारस पाइने गर्छन् ।

बुद्ध र सारसबीचमा दया र करुणा जोडएअनुसार बुद्धका काकाका छोरा देवदत्तले बाणले घाइते बनाएको सारसलाई बुद्धले औषधि गरी जीवित तुल्याएको घटनाले पनि लुम्बिनी सारसको प्रिय स्थल बन्न पुगेको मान्यता छ । लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी क्षेत्रमा सारसपछि स्थानीय चरामा भुँडीफोड, गरुड, धोधीफोड, हुटिट्याउँ, भँगेरा, बगेडी, सिलसिले, चिल, कृष्णकाँड, नीलकण्ठलगायत सयौं प्रकारका छन् । लुम्बिनी क्षेत्रमा न्यानो घाम, तालतलैया र नदी एवं खेतबारीमा टन्न आहार पाइने र नहर पोखरी आदिमा जलविहारको आनन्द लिने अनुकूल वातावरण भएकाले लुम्बिनी चराको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको योजना प्रमुख भट्टराई बताउनुहुन्छ ।

लुम्बिनी विकास गुरुयोजनाले निर्दिस्ट गरेअनुसार लुम्बिनीमा ६० प्रतिशत भूभाग हरित क्षेत्र, ४० प्रतिशत क्षेत्र नहर पोखरी एवं सुन्दर उद्यान भएको हुँदा लुम्बिनी चराको पवित्रस्थल बन्दै गएको उहाँको भनाइ छ । विश्वबाट कतिपय पर्यटक, चराविद् तथा चराबारे अनुसन्धान गर्नेहरु वर्षेनी सयौंको संख्यामा लुम्बिनी र वरपरका तालतलैया क्षेत्रमा आउने गर्छन् । सारस संरक्षणमा लामो समयदेखि लागेका रवीन्द्रमान श्रेष्ठले लुम्बिनी क्षेत्रमा २ सय ५० को संख्यामा सारस रहेको बताउँदै संरक्षणका लागि विभिन्न कार्यक्रम गरिएको बताउनुभयो ।

केही वर्षअघि लुम्बिनी क्षेत्रको सीमसार क्षेत्रमा विभिन्न ४१ प्रजातिका जलपक्षीका ९ सय १० प्रकारका चरा भेटिएका थिए । लुम्बिनी क्षेत्रको जलपक्षी गणना गर्दा चराको प्रजाति र संख्या खुलेको हो । लुम्बिनीसँगै नजिकैको गैडहवा ताल क्षेत्र र अन्य क्षेत्रमा समेत विभिन्न प्रजातिका चराहरु देख्न सकिन्छ । गैडहवा ताल वरपर १२ प्रजातिका चरा गणनाका क्रममा फेला परेको नेपाल पक्षी संरक्षण संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्