गौडेल समूहद्वारा प्यानल सार्वजनिक



बाँके, (नेस) ।

नेपाली कांग्रेस, बाँकेका सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेलले आफ्नो प्यानल घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस, लुम्बिनीका महामन्त्री राजेन्द्र आचार्यको विशेष उपस्थितिमा कांग्रेस बाँकेका सभापति किरण कोइरालाको उपस्थितिमा गौडेलको प्यानल घोषणा गरिएको हो । डा. शेखर कोइराला पक्षका गौडेलको प्यानलको घोषणा सचिवालय संयोजक एवं लुम्बिनी प्रदेश कमिटिका सदस्य टेकनारायण भुसालले घोषणा गर्नुभयो ।

गौडेल समूहमा उपसभापति गोपाल अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंक काफ्ले (आशिष), सहसचिवमा विश्वराज लम्साल र रेणुका ठाकुर रहेका छन् । सदस्यहरूको उम्मेदवारी केही दिन घोषणा गर्ने सचिवालय संयोजक भुसालले जानकारी दिनुभयो । कांग्रेस बाँकेको पुस २७ गते अधिवेशन हुँदैछ । प्यानल घोषणा गरेको गौडेल समूहले नेपालगञ्जमा सम्पर्क कार्यालय खोलेर चुनावी अभियान थालिसकेको छ ।

संस्थापन समूहले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन । संस्थापन समूहमा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, बादसाह कुर्मी, निरञ्जनसिंह सिजापतिलगायत सभापतिको उम्मेदवार दाबेदार रहेका छन् । गौडेल पक्ष प्यानल घोषणा र सम्पर्क कार्यालय सञ्चालन गरेर अगाडि बढ्दा संस्थापन पक्षलाई उम्मेदवार टुंग्याउन नै समस्या भएको छ । बाँके कांग्रेसमा पालिका र क्षेत्रीय सभापतिमा संस्थापन पक्ष हावी रहेकाले उम्मेदवारमा हानथाप भइरहेको छ ।

बादसाह कुर्मीले पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरिसकेका छन् । सुरेन्द्र हमाललाई केन्द्रीय सभापतिको आशिर्वाद रहेको बताइएको छ । बर्दिया निवासी कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरको अघि सारेका व्यक्ति नै संस्थापन समूहको उम्मेदवार हुने कांग्रेसजन बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्