नियमविपरीत खोला दोहन, नगरपालिका बेखबर



भद्रपुर ।

तोकिएको मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भइरहे पनि भद्रपुर नगरपालिकाले कुनै चासो नदिएको पाइएको छ । तोकिएको उत्खनन घनमिटरको कुनै लेखाजोखासमेत नगरपालिकामा छैन । चालु आर्थिक वर्षका लागि नगरपालिकाले ४१ हजार ८ सय ७५ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाइसकेको छ ।

चालु आर्थिक वर्षको कात्तिक महिनाबाट खोलामा उत्खनन भइरहे पनि हालसम्म कति परिमाण नदीबाट बाहिरियो सो विषयमा नगरपालिका बेखबर छ । त्यतिमात्र नभई नदीमा बनाइएका पुलमा क्षति नहोस् भनेर पुलको दायाँबायाँ या तलमाथि ५ सय मिटरको दूरी छाडेर मात्र उत्खनन गर्नुपर्नेमा ठेकेदारले सो नियमविपरीत काम गर्दासमेत भद्रपुर नगरका जनप्रतिनिधि, कर्मचारीलाई कुनै चासो नभएको हो ।

भद्रपुर नगरपालिकाअन्तर्गत पर्ने हडिया, देउनियाँ र मेचीका विभिन्न क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । नगरपालिकाले अनुमति नदिइएका क्षेत्रबाट समेत दैनिक रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहँदासमेत स्थानीय प्रहरी प्रशासनसमेत मूक दर्शक बनेका छ । वार्षिक रूपमा नगरपालिकाले ठेक्का लगाउँछ अनि चुपचाप । कुन क्षेत्रमा कति घनमिटर उत्खनन भयो भन्ने कुनै तथ्याङ्क नगरपालिकाको सम्बन्धित फाँटमा जानकारी छैन । नगरपालिकाले तोकेको ठेक्का रकमभन्दा पाँचगुणा बढी डाँक बडाबडमा स्थानीय ठेकेदारले रकम तोकेपछि सो रकम कहाँबाट असुलउपर हुन्छ होला सहजै अनुमान लगाउन सकिन्छ । आइईई गरिएको क्षेत्र भनिए पनि ठेकेदारले मनलागी जताततै उत्खनन गर्दै आइरहेका छ ।

खोला दोहनको विषयलाई लिएर केही हप्ताअघि हडिया र निन्दा दोभानमा व्यवसायीबीच विवाद उत्कर्षमा पुगेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ (क) र नगरपालिकाको आर्थिक ऐन, आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्ती) कार्यविधि २०७५, ढुंगा गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ तथा नगर कार्यपालिकाको ०७८ असोज १ गते को निर्णयअनुसार अद्यावधिक आइईई प्रतिवेदनमा उल्लेखित नदीहरूको स्वीकृत घाटहरूमा निर्धारित मापदण्डबमोजिम नदीजन्य सामग्री उत्खनन गर्ने गरी ठेक्का लगाएको छ ।

नगरपालिकाले मेची नदी प्याकेज नम्बर १ अन्तर्गत २३ हजार ५ सय घनमिटर उत्खननका लागि ३४ लाख १ हजार ७ सय १७ रुपियाँ ३७ पैसा, हडिया तथा निन्दा खोला प्याकेज नम्बर २ मा १२ हजार ३ सय ७५ घनमिटरका लागि १५ लाख ९५ हजार १ सय ३४ रुपियाँ ४१ पैसा र ३ नम्बर प्याकेज अन्तर्गत देउनियाँ खोलामा ६ हजार घनमिटरका लागि ९ लाख १ हजार ८ सय ५६ रुपियाँ ८१ पैसा गरी भ्याटबाहेक करिब ५९ लाख रुपियाँमा ठेक्का खुलाए पनि डाक बडाबढका कारण १ करोड २४ लाख ५३ हजार ३ सय ५ रुपियाँमा ठेक्का लागेको नगरपालिका राजस्व शाखाले जनाएको छ ।

कति परिमाणमा नदीजन्य पदार्थ उत्खनन भयो भन्ने विषयमा ठेकेदारलाई पत्र काटिएको राजस्व शाखाका कर्मचारी सुशील कर्णले बताउनुभयो । प्रत्येक महिनाको ७ गतेभित्र ठेकेदारले उत्खननको परिमाण बुझाउनुपर्नेमा हालसम्म नबुझाएकाले पुनः दोसो पत्र काटिने उहाँले जानकारी दिनुभयो । मेची, हडिया र निन्दाको पल्पसा निर्माण सेवा र देउनियाँ खोलाको स्नेहा निर्माण सेवाले ठेक्का लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्