काठमाडौंमा कांग्रेसको प्रदेश सम्पर्क कार्यालय



हेटौंडा, (नेस) ।

नेपाली कांग्रेस वागमती प्रदेश समितिको बैठकले संघीय राजधानी काठमाडौंमा प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । समितिको हेटौंडामा भएको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले प्रदेश समितिलाई प्रविधिमैत्री बनाउने निर्णय पनि गरेको छ । समितिको फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल बनाएर विभिन्न स्थानीयदेखि केन्द्रीय समितिसम्म प्रभावकारी समन्वयको वातावरण बनाउने जनाइएको छ । १४औं अधिवेशनबाट निर्वाचित प्रदेश समितिका सभापति, पदाधिकारी तथा सदस्यलाई माघ पहिलो साताभित्र प्रशिक्षण दिनेसमेत निर्णय भएको महामन्त्री राजु श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले प्रदेश अधिवेशन सम्पन्न गर्न विभिन्न तह र तप्काबाट भूमिका निर्वाह गर्नेमा धन्यवाद दिने प्रस्ताव पारित गरेको छ । निर्वाचन अधिकृत, केन्द्रीय तथा मकवानपुर समिति, सुरक्षा निकाय, पत्रकार, नागरिक समाज, स्वयम्सेवकलगायत अधिवेशनमा सक्रिय रहने सबैमा प्रदेश समितिले धन्यवाद दिएको हो । समितिले कांग्रेसका नवनिर्वाचित केन्द्रीय सभापतिसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूमा बधाई शुभकामना दिने प्रस्ताव पनि पारित गरेको महामन्त्री श्रेष्ठले बताउनुभयो ।

बैठकमा प्रदेश समिति उपसभापति मोहनबहादुर बस्नेत, चन्द्र महर्जन, महामन्त्री कञ्चनचन्द्र बादे, जीवन डंगोल, सहमहामन्त्री ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठलगायत सदस्यको उपस्थिति थियो । बैठकअघि निर्वाचन अधिकृत केशवराज काफ्लेले प्रदेश समितिका नवनिर्वाचित सभापति, पदाधिकारी र सदस्यलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्