त्रिवि र विद्यार्थी संगठनबीच सहमति



काठमाडौं, (नेस) ।

विभिन्न माग राखेर आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका विद्यार्थी संगठन र त्रिभुवन विश्वविद्यालय वार्ता समितिबीच ४ बुँदे सहमति भएको छ ।

गत मंसिर १४ गते त्रिविको सिनेटले गरेको विशेष आन्तरिक खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने निर्णय हाललाई कार्यान्वयन नगर्ने, त्रिविमा रिक्त रहेका दरबन्दीलाई समावेशीको आधारमा ६–६ महिनामा विज्ञापन गरी पदपूर्ति गर्ने, त्रिवि सेवा आयोगद्वारा गत साउन १८ गते स्थगित गरिएको उपप्राध्यापक खुला प्रतियोगिताको विज्ञापनको कार्यतालिका तत्काल प्रकाशित गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाउन त्रिवि सेवा आयोगसँग त्रिविका पदाधिकारीले अनुरोध गर्ने सहमति भएको छ ।

त्यसै गरी त्रिविको अभिलेखमा दर्ता कायम भएका सबै विद्यार्थी संगठनको केन्द्रीय नेतृत्वसँग आवश्यक छलफल गरी यथासमयमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउने पनि सहमति भएको छ । त्यस्तै, आन्दोलनरत विद्यार्थी संगठनले त्रिविको केन्द्रीय कार्यालयमा लगाएको ताला खोली आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमति भएको वार्ता समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्