रेशम चौधरीद्वारा नयाँ दल गठन



काठमाडौं, (नेस) ।

डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गर्नुभएको छ । चौधरीले सोमबार श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गर्नुभएको हो ।

आफ्नै अध्यक्षतामा सो पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमतीको नाममा पार्टी गठन गर्नुभएको थियो । नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि रेशम चौधरीका समर्थकहरू निर्वाचन आयोगमा पुगेका छन् । सो पार्टीका नेता–कार्यकर्ताहरू चौधरीका तस्वीर अंकित प्लेकार्ड र ब्यानर बोकेर दल दर्ताको निवेदन दिन निर्वाचन आयोगको कार्यालयमा पुगेका हुन् ।

उनीहरू काठमाडौंको भृकुटीमण्डपबाट बाजागाजा र झाँकीसहित आयोगको कार्यालय कान्तिपथ पुगेका छन् । चौधरी टीकापुर हत्याकाण्डका प्रमुख आरोपित हुन् । राष्ट्रिय जनता पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि चौधरी सोही पार्टीमा थिए । तर, थरूहट आन्दोलन र बन्दी रिहाबारे सरकार, मधेसी दल कसैले पनि चासो नदेखाएपछि आफैं दल खोल्ने निर्णयमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्