राष्ट्रिय सभा सदस्यमा कांग्रेसका ६ उम्मेदवार



काठमाडौं, (नेस) ।

सत्ताधारी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीको तर्फबाट ६ जना उम्मेदवार तय गरेको छ । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आज मंगलबार उम्मेदवारी दर्ता गर्ने मिति तय भएको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट प्रदेश एकमा गोपालकुमार बस्नेत, वागमती प्रदेशमा कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने निर्णय गरेको हो ।

यसअघि, बसेको कांग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यका लागि पार्टीले खडा गरेको उम्मेदवारलाई दलको आधिकारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको थियो । कुल १९ सिटका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनभित्र कांग्रेसको भागमा ६ जना परेको थियो ।

कांग्रेस केन्द्रीय समितिको पुस १० गते बसेको पहिलो बैठकमा महामन्त्री गगन थापाले प्रस्ताव पेस गर्नुभएको थियो भने हिजो सोमबार बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव पेस गर्नुभएको थियो । महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय बैठकमा आलोपालोमा प्रस्ताव पेस गर्ने सहमति गरेको बताइएको छ । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिएअनुसार माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धन ऐक्यबद्ध ढंगले अघि बढ्ने सहमतिबमोजिमका उम्मेदवारहरूलाई विजयी गराउन केन्द्रीय कार्यसमितिको बैठकले सबै मतदातालाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्