नेपालगञ्ज नाकामा भारतबाट आएका नौ जनामा देखियो कोरोना

भारतमा देखिएको ओमिक्रोनको असर नेपालमा



बाँके ।

नेपालगञ्ज नाकामा एकैदिन नौ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका नौ जना नै भारतबाट आएका व्यक्ति हुन् । साउनयता एकैदिन यतिका धेरै संक्रमित पुष्टि भएको पहिलो घटना हो । भारतमा ओमिक्रोनका संक्रमित बढ्दै जाँदा त्यसको असर नेपालमा देखा पर्न थालेको छ । नेपालगञ्ज नाकामा कोरोना पुष्टि भएका व्यक्तिमा ओमिक्रोन छ कि छैन भन्ने बुझ्न सबैको स्याम्पल संकलन गरिएको छ । त्यो स्याम्पललाई काठमाडौं पठाउने तयारी भएको छ ।

नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, सोमबार भारतबाट आएका ३सय ७ जनाको जाँच गर्दा ९ जनामा कोरोना पुष्टि भएको छ । ९ जनामा ७ पुरुष र २ महिला रहेका छन् । भारतको हरिद्वारबाट आएका कालिकोटका ४ जना, दिल्लीबाट आएका दाङका ३ जना, महाराष्ट्र र दिल्लीबाट आएका बाँकेका २ जनामा कोरोना पुष्टि भएको हो ।

भारतमा ओमिक्रोनको संक्रमित ह्वात्तै बढेपछि नेपालगञ्ज नाकामा फेरि सतर्कता अपनाएर जाँचलाई बढाइएको हो । हुन त नेपालगञ्ज नाकाबाट गत चैत्रदेखि नै कोरोना जाँच हुँदै आएको छ । बीचमा अलि खुकुलो पारिए पनि भारतमा संक्रमित बढ्दै गएपछि फेरि कडाइ गरिएको छ । आइतबार दुई जनाको जाँच गर्दा एक जनामा कोरोना पुष्टि भएको थियो । त्यसअघि, पुस ७ गते एक जनामा कोरोना पुष्टि भएको थियो । ल्याब टेक्निसियन ज्ञवालीले साउनयता नै एकैदिन यतिका धेरै मानिसमा कोरोना देखिएको बताउनुभयो ।

नेपालगञ्ज नाकामा कोरोना देखिएका व्यक्तिलाई सीधै घर पठाउने गरिएको थियो । आइतबार कोरोना देखिएका व्यक्तिलाई पनि घर पठाइएको थियो । आइतबार नै बसेको विपद् व्यवस्थापन समितिको बैठकले कोरोना देखिएका व्यक्तिलाई यही उपचार गर्ने वा सम्बन्धित पालिकामा पठाउने निर्णय गरेको छ । सोहीअनुसार नै सोमबार नौ जनामध्येमा आठ जनालाई भेरी अस्पतालमा पठाइएको छ । एक जना बाँकेका व्यक्तिलाई जनप्रतिनिधि आएर जिम्मा लिएका छन् । ओमिक्रोन हो कि होइन भन्ने बुझ्नका लागि आइतबार कोरोना देखिएका एक जना र सोमबार कोरोना पुष्टि भएका नौ जना गरी दश जनाको स्याम्पल काठमाडौं पठाउने तयारी भएको ल्याब टेक्निसियन ज्ञवालीले जानकारी दिनुभयो ।

नेपालगञ्ज नाकामा यो महिना चार हजार पाँच सय जनाको कोरोना जाँच गरिएको छ । त्यसमध्येमा ११ जनालाई कोरोना देखिएको छ । चैत्रदेखि अहिलेसम्म यो नाकामा ५४ हजारको कोरोना जाँच गरिएको छ । त्यसमा चार सय १४ जनालाई कोरोना देखिएको छ । भारतमा कोरोना कम हुँदा नेपालगञ्ज नाकामा संक्रमित कम देखिने गरेका छन् । भारतमा फेरि बढ्न थालेपछि यो नाकामा संक्रमित बढेको छ । भारतमा ओमिक्रोन ह्वात्तै बढेकाले नेपाल सरकारले बेलैमा नाकाहरूमा सतर्कता अपनाउनु पर्ने देखिन्छ ।

पश्चिमको चलनचल्तीको प्रमुख नाका नेपालगञ्जबाट ठूलो संख्याका नेपाली भारतमा रोजगारीका लागि जाने गर्दछन् । भारतमा संक्रमण बढेपछि उनीहरू घर फर्किने गर्दछन् । उनीहरू घर फर्किदा संक्रमण लिएर आउने जोखिम हुने गर्दछ । भारतबाट फर्किने सबै नेपालीको नेपालगञ्ज नाकामा जाँच गरेर संक्रमितलाई नेपालगञ्जमै व्यवस्थापन गर्न सकेमा पहाडी जिल्लाहरूमा संक्रमण फैलिनबाट रोकिन सक्छ ।

एकैदिन २८ जनामा संक्रमण
सुदूरपश्चिम प्रदेशमा ह्वात्तै कोरोना भाइरस संक्रमित बढेका छन् । सोमबार एकैदिन सुदूरपश्चिम प्रदेशमा २८ जनामा संक्रमणको पुष्टि भएको छ । यसअघि आइतबार ५ जनामा मात्रै संक्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८ सय ७७ जनाको नमुना परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ३ र एन्टिजेनमार्फत बैतडीका १२, कैलालीका ९ र कञ्चनपुरका ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, गएको २४ घण्टामा प्रदेशभर ४ जना निको भएका छन् । यसअघि आइतबार ५ जनामा संक्रमण पुष्टि हुँदा ४ जना निको भएका थिए । सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६ सय १४ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्