कार्गो बोक्दा निगमको आर्थिक अवस्था बलियो हुन्छ : मन्त्री आले


विमल विष्ट काठमाडौं ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अर्बौँको ऋणमा रहेको नेपाल वायुसेवा निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशत मात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सक्नेमा त्यसले निगमको आर्थिक अवस्था बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।

आज मन्त्रालयमा भएको नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबिच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कार्गो ओसारपसार सम्झौता कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले बिद्युत् प्राधिकरणका कार्गो र यात्रु ओसार पसारबाट निकै राहत हुने बताउनुभयो ।उहाँले भन्नुभयो, “निगम डुब्ने अवस्थामा छ, अब बिद्युत् प्राधिकरणबाट वर्षको ५० प्रतिशत मात्रै कार्गो बोक्न पाए ऋण तिर्नमा निकै सहज हुने छ ।”नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबिच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कार्गो ओसारपसार सम्झौता भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सोमबार मन्त्रालयमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल वायुसेवा निगमले बिद्युत् प्राधिकरणका कर्मचारीलाई अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशतसम्म छुट दिने भएको छ । यसै गरी विद्युतीय प्राधिकरणका उपकरण तथा कार्गो ढुवानीमा तौलका आधारमा कम्तीमा पनि ५ देखी १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।

प्राधिकरणका कर्मचारी तथा परिवारका सदस्यले टिकटमा छुट पाउन निगमको मुख्यालयबाटै मात्रै टिकट खरिद गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । उक्त कार्यक्रममा बोल्नु हुँदै मन्त्रालयमा सचिव महेश्वर न्यौपानेले वायुसेवा निगम र विद्युत् प्राधिकरणबिचको कार्गो ओसारपसार सम्झौताले वायुसेवा निगमलाई निकै राहत पुग्ने अपेक्षा लिइएको बताउनुभयो ।