रसुवागढी सुख्खा बन्दरगाह समयमा नबन्ने



रसुवा ।

रसुवाको टिमुरेमा वन्न लागेको सुख्खा बन्दरगाह तोकिएको समयमा सम्पन्न नहुने लगभग पक्कापक्की भएको छ । तोकिएको समय सकिन लाग्दा बल्ल २० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । बन्दरगाह निर्माण शुरू भएको दुई वर्ष पुगेको छ । सम्झौताअनुसार आगामी तीन महिनाभित्रै यो बन्दरगाह निर्माण गरेर सरकारलाई हस्तानतरण गर्नुपर्ने थियो ।
२० नोभेम्बर २०१९ मा बन्दरगाह निर्माणका लागि शिलान्यास गरी औपचारिक रूपमा काम शुरू गरिएको थियो । बन्दरगाह निमार्णको जिम्मा चीनको तिब्बतस्थित टिबेट फूली कन्स्ट्रक्सन ग्रुप लिमिटेडले पाएको थियो । ३० महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म जम्मा २० प्रतिशत मात्रै काम भएको छ ।

टिबेट फूली कन्स्ट्रक्सन ग्रुप लिमिटेडका म्यानेजर याङ इलीका अनुसार अहिले खोलाको किनारमा मेसिनरी वाल लगाउने काम भइरहेको छ । खोला किनारको ६ सय ६० मिटर लम्बाइमा वाल लगाइने काम भइरहेको छ । हालसम्म दुई सय १० मिटरमा वाल लगाइएको छ । खोलाबाट १३ मिटर उचाइको वाल लगाउने कामले तीव्रता पाएको छ । ‘वर्षात्को समयमा असहज हुने स्थानमा अहिले वाल लगाउने काम भइरहेको छ,’ उहाँले भन्नुभयो ।

वर्षात्अघि खोला किनारमा वाल लगाउने काम सम्पन्न गर्ने योजना रहेको उहाँले बताउनुभयो । संरचना निर्माण आगामी वर्षदेखि शुरू गरिने उहाँले बताउनुभयो । चीनबाट कामदार आउन नसक्दा कामले गति लिन नसकेको उहांले बताउनुभयो । निर्माण स्थलमा अहिले ३५ जना नेपाली र १५ जना चिनियाँ कामदार कार्यरत रहेका छन् । १० जना चिनियाँ दक्ष कामदार आउन नसक्दा निर्माण स्थलमा कामले गति लिन नसकेको हो । ‘चीनबाट कामदार आउन सकेका छैनन्, सिपयुक्त दक्ष कामदार अभाव छ, त्यसैले अहिले नेपाली कामदार थप गरी कामलाई तीव्रता दिइरहेका छौँ,’ उहाँले भन्नुभयो ।

सन् २०१९ को नोभेम्बरबाट काम शुरू गरी ३० महिनाभित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि कोरोना महामारी, चिनियाँ कामदार चीनबाट निर्माण स्थलमा आउन नसक्नुलगायतका कारण कामले गति लिन नसकेको आयोजनाले जनाएको छ । अबको १८ महिनाभित्रमा बन्दरगाह निर्माणको काम सम्पन्न गर्ने योजनामा आफूहरू रहेको तिब्बत फूली कन्स्ट्रक्सन ग्रुप लिमिटेडका म्यानेजर याङ इलीले बताउनुभयो ।

नेपाल र चीनबीच भएको सम्झौताअनुसार चिनियाँ पक्षले सुख्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । करिब १२ करोड ४० लाख चिनियाँ युआनको लागतमा सुख्खा बन्दरगाह निर्माण शुरू गरिएको छ । चीन सरकारको आर्थिक सहयोगमा अन्तराष्ट्रियस्तरको सुविधा सम्पन्न बन्दरगाह निर्माण हुने बताइएको छ ।
८ दशमलव ५ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको बन्दरगाहमा एउटा मुख्य भवन रहने भएको छ । त्यसमा प्रशासनिक कार्यका लागि भन्सार, क्वारेनटाइन, बैङ्क, ल्याब, सुरक्षालगायत कार्यालयहरू रहने रसुवागढी भन्सार कार्यालय टिमुरेले जनाएको छ । तीन सय १५ भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने गरी पार्किङ स्थल निर्माण हुनेछ । त्यसैगरी ७ सय ५० वर्ग मिटरको क्षेत्रफलमा गोदामघर निर्माण हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्