कालोसूचीबाट हटाउन सरकार संवेदनशील



काठमाडौं (नेस) ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन सरकार संवेदनशील रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री आलेले युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसद्मा विधेयक पेस भएको भन्दै ती विधेयक छिट्टै पारित गराउने बताउनुभयो ।

‘राष्ट्रिय सभाबाट दुवै विधेयक पारित भइसकेका छन्, अब प्रतिनिधिसभाबाट पनि छिट्टै विधेयक पारित गराएर नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउछौँ,’ उहाँले भन्नुभयो – ‘यी विषयमा सरकार संवेदनशील छ ।’ मन्त्री आलेले नेपालबाट बेलायतसम्मको सीधा हवाई उडानको प्रस्ताव पनि आफूले राखेको जानकारी गराउनुभयो ।
मन्त्री आलेले सरकारी कर्मचारीलाई भ्रमण काज बिदा दिने कार्यविधि जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याइएको पनि उल्लेख गर्नुभयो । ‘कार्यविधिको मस्यौदा अर्थ मन्त्रालयमा पठाइएको छ, त्यसलाई पनि छिट्टै जारी गर्छौँ’ – मन्त्री आलेले भन्नुभयो ।

उहाँले कोभिड–१९ को गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरोत्थानका काम अघि बढाउन उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउन लागिएको पनि जानकारी गराउनुभयो । यस समितिमा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गरिने उहाँले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट अतिप्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थानका लागि आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोभिड १९ विरुद्धको भ्याक्सिनको पूर्ण मात्रा सबै नेपालीलाई शीघ्र उपलब्ध गराई बुस्टर डोजसमेत छिटो लगाउने प्रबन्ध मिलाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्