सीमा पीलरमा भारतीय प्रहरीको दादागिरी 



भद्रपुर ।

मेची नदीको तटीय क्षेत्र तटबन्ध गर्न खोज्दा भारतीय एसएसबीले अवरोध सिर्जना गरेको छ । भारतीय एसएसबीले नेपाली भूमिमै आएर अवरोध गर्दा तटबन्ध निर्माण एक दिन रोकिएको थियो । गत साउन २५ गते मेचीमा आएको बाढीले कचनकवल गाउँपालिका–५ पाठामारीस्थित ११२ नम्बर सीमा पिलर बगाउनुका साथै तटीय क्षेत्र कटान गर्दा नदी किनारको बस्ती उच्च जोखिममा परेको छ ।

पाठामारी बस्तीसँगै नेपाली भू–भाग जोगाउन कचनकवल गाउँपालिकाले ८ लाख रुपैयाँ विनियोजन गरी ढुङ्गा र तार जालीको तटबन्ध बनाउन लागेको गाउँपालिकाका इन्जिनियर अमित ढुङ्गानाले जानकारी दिनुभयो ।  सो निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिएको र २ ठाउँमा १२/१२ मिटर तटबन्ध निर्माण हुने उहाँको भनाइ छ ।

गाउँपालिकाले ११२ नम्बर सीमा स्तम्भदेखि उत्तरतर्फ ५० मिटर छाडेर तटबन्ध निर्माण सुरु गरेको थियो । निर्माण कार्य सुरु गरे लगत्तै भारतीय एसएसबीको १९ बटालियन टोली आएर शुक्रबार काम रोक्न लगाएको थियो । एसएसबीले तटबन्ध निर्माणमा अवरोध सिर्जना गरेपछि उपभोक्ता समितिले तत्काल गाउँपालिकासहित स्थानीय प्रहरीलाई जानकारी गराएको थियो । त्यसको भोलिपल्ट शनिबार बिहान एसएसबी १९ बटालियनका इन्स्पेक्टर सोरियासहितको टोली निर्माण स्थल आइपुगेको थियो ।

यताबाट गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम, वडाध्यक्ष महेशलाल गणेश, इन्जिनियर अमित ढुङ्गाना, सशस्त्र प्रहरी बिओपी पाठामारीका सई रुद्र श्रेष्ठ, पाठामारी चौकीका असई भरत कोइराला लगायतको टोली पुग्यो । दुवै टोलीबीच त्यस विषयमा छलफल भएको थियो । त्यसपछि एसएसबीले जिपिएस ट्र्याकिङ गरी बगाएको ११२ नम्बर पिलरको स्थान पहिचान गर्‍यो ।

सीमा पिलरदेखि ३० मिटर छाड्नुपर्ने नेपाल–भारतबिचको सम्झौतामा उल्लेख छ । जिपिएसले ५० मिटर छाडेको देखाएपछि एसएसबीले तटबन्धको काम गर्नु भन्दै फर्किएको थियो । एसएसबीले बिना कारण दुःख दिँदा निर्माण अवरुद्ध बन्न पुगेको गाउँपालिका अध्यक्ष आलमले बताउनुभयो । गाउँपालिकाले नाप जोख गरेर नेपाली भूमिमै तटबन्ध निर्माण सुरु गर्न लगाएको उहाँले जानकारी दिनुभयो  । एसएसबीले कसैसँग नबुझेर बारम्बार नेपालमा आएर दुःख दिँदा विकास निर्माण अवरुद्ध हुँदै आउने गरेकोले यो काम एकदम गलत भएको उहाँको भनाइ छ ।

११२ नम्बर पिलर बगाउँदा झन् समस्या उत्पन्न भएको उहाँको भनाइ छ । तत्काल सरकारले भारतसँग समन्वय गरी बगाएको पिलर बनाउनु पर्ने उहाँले बताउनुभयो  । यो पिलर समयमा बनाइएन भने एसएसबीले दुःख दिइरहने उहाँको बुझाइ थियो । सीमा पिलरनजिकै नेपाल र भारत दुवै देशका बासिन्दा बस्छन् । कटानका कारण सो क्षेत्रका घरहरू उच्च जोखिममा छन् । पिलरसँगै त्यस क्षेत्रमा पनि तटबन्ध बनाउनु आवश्यक रहेको स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस्