फक्ताङलुङ धार्मिक पर्यटकको गन्तव्य बन्दै

0
Shares

ताप्लेजुङ ।

ताप्लेजुङ जिल्लामा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हिमालभन्दा धेरै पर्यटक कुम्भकर्ण (फक्ताङलुङ) मा जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । कञ्चनजंघा हिमशृङ्खलामा नै रहेको यस हिमालको उचाइ ७ हजार ७ सय १० मिटर रहेको छ । केही अघिसम्म विदेशी पर्यटकले जन्नु हिमालका रूपमा चिनेका यस हिमालमा फाट्फुट्ट विदेशी पर्यटक अवलोकनका लागि पुग्ने गर्दथे । कञ्चनजंघा हिमालको उत्तरी आधार शिविरको बाटोअन्तर्गत हजारे वा खम्बाचेनबाट बिहान पुगेर पैदल फर्केर आउन सकिन्छ, फक्ताङलुङ हिमालको आधार शिविरबाट । यस हिमालको पहिलो आरोहण प्रयास सन् १९६२ मा भएको थियो ।

कुम्भकर्ण हिमालको पहिचान अन्य हिमालको तुलनामा फरक रहेको छ । यहाँ विगत लामो समयदेखि धार्मिक पर्यटक पनि फाट्टफुट्ट आएर दर्शन गरी फर्कने गर्दथे । वास्तवमा भन्ने हो भने नेपालको १६औं राष्ट्रिय विभूति समाज सुधारक महागुरु फाल्गुनन्दले यस हिमालको फेदीमा आएर तपस्या गरेकाले यसको थप महत्व रहीआएको छ । किराँत धर्मालम्बीको पवित्र धार्मिकस्थलका रूपमा अहिले यस स्थललाई मारुम्तेम्बे, पारुम्बेतेम्बे भनेर उनीहरूले धार्मिक स्थलका रूपमा पूजाआजा गर्ने गरेका छन् ।

यस हिमालको फेदीलाई अहिले धार्मिकस्थलका रूपमा परिचित गर्ने र त्यस स्थानमा भौतिक संरचना निर्माणले तीव्रता पाएसँगै यहाँ आउने धार्मिक पर्यटक ह्वात्तै बढेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष तथा सोही क्षेत्रको होटल व्यवसायी छोवाङ शेर्पा बताउनुहुन्छ ।

पवित्र कुम्भकर्ण धार्मिकस्थल संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दीपक ताप्मादेनका अनुसार यस यस फक्ताङलुङ हिमालको फेदीमा रहेको धार्मिकस्थल ४ हजार ५ सय मिटरको उचाइमा भएकाले जुनसुकै मौसममा यहाँ पुग्न सम्भव हुँदैन, त्यसैले पर्यटकीय मौसम असोजदेखि मंसिरसम्म र फागुनदेखि वैशाखसम्मको समयमा यहाँ जानको उपयुक्त मौसम हो ।
ताप्लेजुङ सदरमुकामबाट १ दिनको मोटरबाटो भएर लेलेपको सेकाथुमबाट सामान्यतया ३ दिनको पैदल यात्रामा पुग्न सकिन्छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ तथा भारतको विभिन्न क्षेत्र, भुटान, हङकङ, बेलायत जस्ता देशबाट नेपालीमूलका धमालम्बी उहाँ आउने ताप्मादेन बताउनुहुन्छ । दृश्य अवलोकन र मनोरञ्जनका लागि आउने विदशी र स्वदेशी पर्यटकको अचेल ओइरो लाग्न थालेको उहाँको भनाइ छ । ‘यसको प्रचार–प्रसार भइरहेको छ । नेपालीको पनि घुमफिरमा रुचि र समय दिन थालेका छन्’, ताप्मादेन भन्नुहुन्छ– ‘यसले फक्ताङलुङलाई धार्मिक र प्राकृतिक पर्यटकीय हव बनाउने छ ।’

अहिलेसम्म कति पर्यटक र धर्मालम्बी यस स्थानमा आए तथा वर्षमा कति आउँछन् भनेर कसैले तथ्याङ्क राखेको पाइएको छैन । कञ्चनजंघा संरक्षण क्षेत्रको पर्यटन चेकपोस्ट घुन्साका कर्मचारी टासी तेञ्जिङ शेर्पाका अनुसार अहिलेसम्म विदेशी पर्यटकको तथ्याङ्क राख्ने गरेको भए तापनि स्वदेशी पर्यटकहको तथ्याङ्क राख्ने व्यवस्था नभएकाले राखिएको छैन । विगतको आर्थिक वर्ष २०७६/७७ मा ६ सय ८ जना विदेशी पर्यटक कञ्चनजंघामा आएका थिए भने आव २०७७/७८ मा कोरोना महामारीका कारण ४३ जना मात्र पर्यटक यस क्षेत्रमा आएको पाइन्छ । शेर्पाका अनुसार लेलेपको सेकाथुमबाट आउने स्वदेशी तथा विदेशीको तथ्याङ्क राख्ने तयारी भइरहेको छ ।

यस स्थानमा आउने पर्यटक तथा धर्मालम्बीहरुका लागि धमाधम आवश्यक भौतिक पूर्वाधार पनि बन्ने क्रम जारी रहेको छ । अहिले सो स्थानमा धर्मालम्बीलाई खान–बस्नका लागि भत्तशाला निर्माण भएको छ भने गुरु आश्रम पनि निर्माण भएको छ । परिषद्का कोषाध्यक्ष छोवाङ शेर्पाका अनुसार यहाँ धर्मालम्बीका लागि खानबस्नका लागि थप संरचना बनाउन निजी लगानीमा होटल, चिया पसल सञ्चालन गरिन लागेको छ । अबको केही वर्षमै यस क्षेत्रमा धार्मिक पर्यटकको चाप थामी नसक्नु हुने उहाँको भनाइ छ । ‘त्यसैले यस क्षेत्रको सेकाथुम, लामाटा, ठाङ्गेम, ग्याब्ला, फले, घुन्सा, हजारे, खम्बाचेनका होटल तथा चिया पसल व्यवसायीले पनि लगानी बढाएर सेवा क्षमतामा वृद्धि गर्न आवश्यक छ ।’ –शेर्पाको भनाइ छ ।

स्थानीय तह, कञ्चनजंघा संरक्षण क्षेत्र, पवित्र कुम्भकर्ण धार्मिकस्थल संरक्षण समिति र स्थानीयको सहकार्यमा यस क्षेत्रमा सञ्चार, विद्युत्, सहज बाटो, स्वस्थ्य सेवा, आवश्यक भौतिक संरचनाहरुको निर्माण तथा प्रचारप्रसार गरेमा यस क्षेत्रको स्थानीय समुदाय, सरोकारवाला निकाय सबैका लागि उदाहरणीय धार्मिक पयर्टन क्षेत्र बन्नेमा शंका नभएको उहाँ बताउनुहुन्छ ।