माओवादीको आठौं महाधिवेशन सम्पन्न

सहमतिबाटै केन्द्रीय सदस्यको घोषणा



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबारको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिबाटै घोषणा गर्नुभएको केन्द्रीय सदस्यहरूको नाम पारित भएसँगै महाधिवेशन सम्पन्न भएको हो । निर्वाचनमार्फत केन्द्रीय सदस्य चयनको प्रक्रिया थालेको माओवादीले अन्तिम समयमा आएर सहमतिबाटै केन्द्रीय सदस्यहरूको नामावली तयार पारेको हो । अध्यक्ष प्रचण्डले महाधिवेशन आयोजक समितिको तर्फबाट केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २ सय ३६ जनाको नाम बन्द सत्रमा प्रस्तुत गर्नुभएको छ ।

अध्यक्ष मण्डलको तर्फबाट कृष्णबहादुर महराले महाधिवेशनबाट केन्द्रीय सदस्यहरू चयन भएको बताउनुभयो । उहाँका अनुसार नवनिर्वाचित केन्द्रीय समितिको बैठक सोमबार बस्ने छ । उक्त बैठकले पदाधिकारी चयनको विषय टुंग्याउने जानकारी दिँदै उहाँले सहमतिबाटै केन्द्रीय सदस्य चयन गरेर एकताको भावना ल्याउन महाधिवेशन सफल भएको बताउनुभयो । महाधिवेशनले पारित गरेका विधानअनुसार माओवादी केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय रहेको छ ।

माओवादीको महाधिवेशन यही १२ पुसबाट शुरू भएको थियो । महाधिवेशनले प्रचण्डको २५ पृष्ठ लामो वैचारिक तथा राजनीतिक दस्तावेज ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ परिमार्जनसहित पारित गरेको छ । त्यसै गरी पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको पार्टीको विधान मस्यौदा पनि परिमार्जनसहित पारित भएको थियो । वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफलका लागि महाधिवेशन प्रतिनिधिहरूलाई २४ वटा समूहमा विभाजित गरेर छलफल गरिएको थियो ।

पार्टीको २ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट महाधिवेशनले केन्द्रीय कमिटी चयन गर्ने, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने, पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन गर्ने सहितको विधानलाई महाधिवेशनमा सर्वसम्मतले पारित गरेको छ ।

अध्यक्ष मण्डलले प्रस्तुत गरेको पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरूको नाम पनि महाधिवेशनले अनुमोदन गरेको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगको प्रमुखमा टंक राई, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ र लेखा आयोगको प्रमुखमा पेशल खतिवडा चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्