कांग्रेस केन्द्रीय समितिमा थप तीन मनोनीत



काठमाडौं, (नेस) ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार केन्द्रीय सदस्यमा थप तीन जना मनोनीत गर्नुभएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले आइतबार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको हो ।

विधानमा ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रावधानअनुसार अघिल्लो दिन पनि सभापति देउवाले १० जना मनोनीत गर्नुभएको थियो । कल्याणकुमार गुरुङ सभापतिमा र प्रदीप पौडेल महामन्त्रीमा पराजित हुनुभएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका जीवनबहादुर शाही सहमहामन्त्रीमा पराजित हुनुभएको थियो ।

अझै सभापति देउवाले २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिलाको संख्या पुर्याउन २० जनामा १२ जना महिला मनोनीत गर्नुपर्ने छ । सभापति देउवाले कोषाध्यक्ष पनि मनोनित गर्न बाँकी छ । कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत गर्नुपर्ने व्यवस्था छ ।

कांग्रेस केन्द्रीय समिति बैठक आज सोमबार बस्दै छ । मुख्य सचिव पौडेलले जानकारी दिएअनुसार बैठकको मुख्य एजेन्डा राष्ट्रियसभाको निर्वाचन रहेको छ । आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य छान्न निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्