ओमिक्रोन फैलिन नदिन पूर्वतयारीको निर्देशन



काठमाडौं, (नेस) ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन नदिन पूर्वतयारी गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सूचना जारी गर्दै ओमिक्रोन फैलिन नदिन सबै निकायले सतर्कता र पूर्वतयारी गर्न निर्देशन दिएका हो । पछिल्लो समय छिमेकी मुलुक भारतमा ओमिक्रोन संक्रमितको संख्या ह्वात्तै बढेकोले मन्त्रालयले यस्तो सूचना जारी गरेको हो । ओमिक्रोनले युरोप, अमेरिकालगायत विश्वका झन्डै सय मुलुकलाई आतंकित बनाएको छ ।

महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा विगतमा जस्तै संक्रमण बढ्न नदिन जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न र परीक्षणको दायरा बढाउन आग्रह गरिएको छ । महाशाखाले सीमा नाकामा प्रवेश गर्ने यात्रुहरूको प्रोटोकलअनुसार व्यवस्थापन गर्न, भीडभाड हुने स्थानमा मास्क लगाउन र सेनिटाइजर प्रयोग गर्न, समुदायको जोखिम क्षेत्रमा परीक्षण बढाउन र खोप प्रयोगलाई बढाउन आग्रह गरिएको छ ।

त्यस्तै, सूचनामा संक्रमितका नजिकका सम्पर्कहरू पहिचान गरी क्वारेन्टिन तथा परीक्षण गर्न, ओमिक्रोन संक्रमितको बारेमा अनुसन्धान गर्न समेत आग्रह गरिएको छ । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपछि सरकारले ७ बुँदे सूचना जारी गरी सावधानी अपनाउन आग्रह गरेको हो ।

यसैबीच पछिल्लो २४ घण्टामा २ सय १६ संक्रमित थपिएका छन् भने कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ६२ पीसीआर र १ हजार ६ सय ६९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । २४ घण्टामा २ सय ९ जना कोरोनामुक्त भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७१ छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २८ हजार ९ सय ८६ र एन्टिजेन परीक्षणबाट ९६ हजार २ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्