मलामी बोकेको बस दुर्घटनामा ७ को मृत्यु



पाल्पा ।

शवको अत्येष्टिका लागि रिडी घाटतर्फ जाँदै गरेको बस आइतबार पाल्पामा दुर्घटना हुँदा सात जनाको घटनास्थलमै ज्यान गएको छ । शवलाई घाटतर्फ पुर्याउँदै लाग्दा शव र मलामी बोकेको बस दुर्घटनामा परेको हो । बुटवलदेखि गुल्मीको रिडीतर्फ जाँदै गएको लु१ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवा भन्ने स्थानमा सडकबाट करिब ५० मिटर तल खसेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रामेश्वर त्वातिका अनुसार मृत्यु हुनेमा अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–२ का २५ वर्षीय शंकर विक, ३६ वर्षीय मोहन कुवँर, २८ वर्षीय भोजेन्द्र विक, ३३ वर्षीय अर्जुन विक, बुटवल उपमहानगरपालिका–१७ का ३० वर्षीय पशुपति रसाइली र ४० वर्षीय खुमबहादुर राना, बुटवल उपमहानगर–११ का ३२ वर्षीय विजय थापा क्षेत्री छन् ।

दुर्घटनामा परी घाइते भएका १५ जनामध्ये ६ जनाको मिसन अस्पताल तानसेन र ९ जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी, स्थानीय बासिन्दा, सशस्त्र प्रहरीलगायतको टोलीले उद्धार गरेको थियो ।

घाइते हुनेमा बुटवल–१७ का विशाल रसाइली, धनबहादुर सुनार, सैनामैना–६ रुपन्देहीका मिरा रामदाम, श्यामबहादुर विक, पाणिनी–१ अर्घाखाँचीका गोपाल नेपाली, छत्रकोट–३ अर्घाखाँचीका लालबहादुर विक, मालारानी–२ अर्घाखाचीका रमेश टोहटो, तिलोत्तमा–१४ रुपन्देहीका दिलमाया सुनार, तारा सुनारको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइते भएका मालारानी–२ अर्घाखाँचीका तुल्सीराम विक, दीपक विक, अर्जुन रसाइली, लक्ष्मण टोहटो, विष्णु विक, बरुण रसाइली र बुटवल उपमहानगर–१२ का माधवप्रसाद बस्यालको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

माधव बस्याल बस धनी रहेको र अन्य सबै घाइतेहरु मृतकका आफन्त रहेको प्रहरीको भनाइ छ । घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र अन्य केहीको टाउको छाती हात खुट्टामा चोट लागेको छ ।

मृतकको शव बसले च्यापिएकाले निकाल्न समय लागेको प्रहरीले जनाएको छ । शव निकाल्न डोजरको प्रयोगसमेत गर्नुपरेको थियो । दुर्घटनाग्रस्त बसबाट तीनवटा शव बाहिर उछिट्टिएको थियो । चारवटा शव भने बसले थिचेको अवस्थामा एस्काभेटर र डोजरको सहायतामा निकालिएको छ ।
रुपन्देहीको बुटवल देवीनगर डिङगरनगरदेखि शव दाहसंस्कारका लागि कालीगण्डकी नदी रुरुक्षेत्रको रिडीघाट हिँडेको बस आइतबार बिहान पौने एघार बजेतिर पाल्पा–रिडी सडक खण्डको ओरालोमा चिप्लिएर दुर्घटना भएको थियो । बस तीव्र गतिमा गुडेको घाइते यात्रुले बताएका छन् । घाइते कृष्णबहादुर नेपालीका अनुसार सडक ओरालो र शीतले गर्दा चिप्लो हुनुका साथै घुम्तीसमेत रहेकाले दुर्घटना भएको हो ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२, मरेङ कुभिण्डेका वीरबहादुर टमाटाको शव दाहसंस्कारका लागि रिडी लगिँदै थियो । दुर्घटनामा घाइतेका अनुसार बसमा करिब ३५ जना मलामी चढेका थिए । अन्य मलामीको अवस्था भने सामान्य छ ।

बसका चालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनामा परेका घाइते सबैको उद्धार गरिएको तथा आवश्यक अन्य अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रामेश्वर त्वातिले जानकारी दिनुभयो ।

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु
सर्लाहीको ईश्वरपुर नगरपालिका–३ बयलबासमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । सागरनाथबाट बयलबास जाँदै गरेको बा१९प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रहेको रुखमा ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका–१० घर भएका २२ वर्षका अरुण सिंह, २० वर्षका श्रगम विक र २२ वर्षका रोहन सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनभयो । दुर्घटनामा परेका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्याए पनि डाक्टरले उनीहरूलाई मृत घोषणा गरेका थिए । मृतक तीनैजना एउटै मोटरसाइकलमा सवार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्