सीके राउतको कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा ६ जना घाइते


न्युज अफ नेपाल, धनुषा ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडक जाम गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

पूर्व-पश्चिम राजमार्ग बिहानैदेखि जाम गरी बसेका जनमत कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको हो । गोली प्रहारबाट पाँच जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते भएका पाँच जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । किसानमुखी विभिन्न सात मागसहित अनिश्चतकालीन यातायात बन्दमा उत्रिएको जनमत पार्टी तोडफोडमा उत्रिएपछि गोली चलाइएको प्रहरीले जनाएको छ ।

अवस्था नियन्त्रण बाहिर जान खोजेपछि २५ शेल आँश्रुग्यास र प्लाष्टिकका गोली चलाइएको जनाइएको छ । आन्दोलनकारीहरुले भने प्रहरीले अन्धाधुन्ध गोली चलाएको आरोप लगाएका छन् ।

सिरहाको औरही गाउँपालिकामा किसानहरूका लागि गहुँको बिउ स्थानीय किसानलाई वितरण नगरेको र किसानहरूले जबर्जस्ती आफैँ लगेपछि प्रहरीले चार जना किसानलाई पक्राउ गरेको विरोधमा पुष ९ गतेदेखि जनमत पार्टी आन्दोलनमा छ ।