धनुषामा १ सय १५ मानवअधिकार उल्लंघनको घटना



जनकपुरधाम ।

धनुषामा एक वर्षमा १ सय १५ वटा मानव उल्लंघनको घटना घटेको एक प्रतिवेदनले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाले २०७७ पुस १६ गतेदेखि २०७८ पुस १५ गतेसम्म गरेको अध्ययनको क्रममा सो संख्यामा मानवअधिकार उल्लंघनको घटना अभिलेखीकरण भएको तथ्यांक सार्वजनिक गरेको हो ।

इन्सेक नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२२ को ३०औं संस्करण प्रकाशन गर्ने तयारीमा रहेको शुक्रबार पत्रकार महासंघ धनुषाको सभाहलमा आयोजित एक कार्यक्रममा इन्सेकका धनुषा प्रतिनिधि दीपेन्द्रप्रसाद सिंहले एक वर्षमा विभिन्न १ सय १५ वटा घटना घटेको जनाउनुभएको छ । सन् २०२१ मा सबैभन्दा बढी जबरजस्ती करणीको घटना घटेको इन्सेकको तथ्यांकमा उल्लेख गरिएको छ । एक वर्षमा करणीको ३५ वटा घटना अभिलेख भएकोमा २२ जना बालिका रहेका छन् । एक वर्षको अवधिमा १३ जना महिला बतात्कृत भएको तथ्यांक छ ।

त्यस्तै, बलात्कार प्रयास तथा यौन दुव्र्यवहारको ९ वटा घटना घटेको छ । बोक्सी आरोपको एउटा घटना घटेको छ भने जातीय छुवाछुतको १, गैरराज्य पक्षबाट हत्या १४, पारिवारिक हत्या ६, हत्या प्रयास १, हिरासतमा मृत्यु १, मोसो/दुव्र्यवहार ४, गैरराज्य पक्षबाट कुटपिट १४, राज्य पक्षबाट कुटपिट २, बहुविवाह १६, मानव बेचविखन ४, शारीरिक दण्ड स्कुलमा १, आगजनी १, घरेलु हिंसा २, अप्राकृतिक मैथुन १ र सम्प्रदायिक झडपको एउटा घटना घटेको अभिलेख छ । इन्सेक धनुषाका अनुसार यस वर्ष पारिवारिक हत्याको घटनामा वृद्धि भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्