कांग्रेस जनताको लोकप्रिय पार्टी हो : नेता महर



बैतडी ।

नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरले नेपाली कांग्रेसको जनताको लोकप्रिय पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगसँग बैतडीको पाटनमा गरेको छलफल कार्यक्रममा नेता महरले नेपाली कांग्रेस सधै जनताको हकहितको पक्षमा काम गर्ने पार्टी भएको बताउनुभएको हो ।

जनाताले चाहेका विकास निर्माण योजना निर्माणदेखि लिएर लोकतन्त्रको रक्षा गर्ने पार्टी कांग्रेस रहेको केन्द्रीय सदस्य महरको दाबी रहेको छ । उहाँले भन्नुभयो– ‘जनताको सबै अधिकार सुनिश्चित गर्न कांग्रेस सरकारले गर्छ, विश्वविद्यालयको शुरुआतदेखि विकास निर्माणका काम कांग्रेसको सरकारको पालामा भएका छन् ।’

कम्युनिस्ट सरकारले आफ्ना कार्यकर्ता पोस्ने काम गरेकाले यसको चिरफार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । यसका साथै उहाँले निकट भविष्यमै आउन लागेको सबै तहको निर्वाचनका कांग्रेस पहिलो पार्टी बनाउनुपर्ने बताउँदै सबैले त्यसको तयारीमा जुट्न निर्देशन दिुभयो । कांग्रेसको हालै सम्पन्न महाअधिवेशनले तय गरेको नारा ‘१४औं महाधिवेशनको कार्यभार, सशक्त कांग्रेस र बहुमतको सरकार’ अनुसार नै काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुहुन्छ– ‘महाधिवेशनको नाराअनुसार नै अगामी निर्वाचनमा कांग्रेसको बहुमत आउने र जनादेशअनुसार कांग्रेसले काम गर्नेछ ।’

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेल, जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, नेपाली कांग्रेस बैतडीका उपसभापति वीरबहादुर विष्ट, जनप्रतिनिधि, नेता कार्यकर्ताहरुको उपस्थिति रहेको नेविसंघ बैतडीका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि कपिल केसीले जानकारी दिनुभयो ।

बजेटको कार्यान्वयन तथा योजनामा छलफल
यसैबीच राष्ट्रिय योजना आयोगले बैतडीका सरकारी कार्यलयका प्रमुख, सुरक्षा निकाय, जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । पाटनमा सम्पन्न उक्त कार्यक्रममा केन्द्र सरकारबाट आउने बजेटको कार्यान्वयन, योजना निर्माणको अवस्थाका बारेमा छलफल गरिएको छ । यसका साथै विशेष र समपूरक बजेट कार्यान्वयनबारे र अगामी दिनमा कस्तो किसिमका योजना राख्दा उपयुक्त हुन्छ भन्ने कुरामा पनि छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिनुभयो ।

छलफल कार्यक्रममा विशेष गरेर पञ्चेश्वर परियोजना, पश्चिम सेती अघि बढाउनुपर्ने, पाटन–पञ्चेश्वर सडक, मध्यपहाडी लोकमार्गको स्तरोन्नति, महाकाली करिडोर तीव्ररूपमा निर्माण गर्नुपर्ने, बीओपी भवन, प्रहरी चौकी निर्माण गर्न भएको समस्या र गत असोज पहिलो साताको अविरल वर्षाका कारण भएको क्षति, महाकालीमा झोलुंगे पुल निर्माण, ठेकेदारका कारण योजना समयमै निर्माण नहुनेलगायतका बारेमा पनि छलफल भएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले योजना कसरी कार्यान्वयन कसरी भइरहेको छ भनेर अन्तरक्रिया गरिएको बताउँदै यहाँको आवश्यकताअनुसार योजना राखिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्