सशस्त्र प्रहरीको लिखित परीक्षा दिने दुई नक्कली परीक्षार्थी पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका २ जना नक्कली परीक्षार्थी शनिवार पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षीय निल कुमार अदै र धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिका ५ बस्ने २७ वर्षीय सौहार्द राई छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनेर परीक्षा दिन खोज्ने  सौहार्द पक्राउ परेका हुन् ।

हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरी  परिक्षार्थीहरुको एकिन गर्ने क्रममा नक्कली परीक्षार्थी प्रमाणित भएको बताइएको छ ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक कारवाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्