भेहिकल एकेडेमी निरीक्षण गर्दै मन्त्री दाहालले भने : गुणस्तरीय सेवा दिनुस्



काठमाडौं, (नेस) ।

वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले चन्द्रागिरि नगरपालिका– १२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर’को शनिबार अवलोकन गर्नुभयो ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले यातायातको साधनको प्रयोगात्मक परीक्षाका लागि सो भेहिकल एकेडेमीलाई ‘ट्रायल सेन्टर’का रूपमा स्वीकृत दिएको छ । नेपालको सबैभन्दा ठूलो र सुविधा सम्पन्न दाबी गरिएको सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो एकेडेमीमा सबै प्रकारका यातायातका साधनका चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । पछिल्लो समय कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सञ्चालन हुँदै आएको छ ।

मन्त्री दाहाललाई एकेडेमीका अध्यक्ष राजेश घिमिरे, महाप्रबन्धक माधवप्रसाद अधिकारी, सञ्चालकत्रय रामनारायण घिमिरे, देवेन्द्र प्रधान तथा पूर्ण श्रेष्ठले एकेडेमीले गरिरहेका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा उहाँहरूले मन्त्री समक्ष लाइसेन्स प्राप्त गर्ने सहज वातावरण तयार गरिदिन , ‘ट्रायलको कोटा’ वृद्धि गरिदिन , लाइसेन्स परीक्षाका लागि फाराम भर्न ‘सर्वर’लाई चुस्त राख्ने वातावरण तयार गरिदिन तथा प्रदेश कार्यालयबाट पनि लाइसेन्स वितरणका लागि उचित वातावरण तयार गरिदिन आग्रह गर्नुभएको थियो ।
मन्त्री दाहालले भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरले हाल गरिएको सेवाको उच्च प्रशंसा गर्दै प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको थियो । उहाँले भन्नुभयो– लाइसेन्स प्राप्त गर्ने सहज वातावरण तयार गरिदिन प्रदेश सरकार प्रतिबद्ध छ । सो अवसरमा यातायात व्यवस्था कार्यालय प्रमुख सञ्जय थापाको पनि उपस्थिति रहेको थियो ।

कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा आर्थिक संकट परेको जनाइएको छ । ‘सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमी चरम आर्थिक समस्यामा परेको छ । सरकारको आग्रह, सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र एकेडेमी सञ्चालन गरेका हौं । हामी चरम आर्थिक संकट छौं, सरकार तथा स्थानीय निकायबाट समेत सुविधा पाएका छैनौं ।’ एकेडेमीका सञ्चालक रामनारायणले भन्नुभयो ।

उहाँका अनुसार सो एकेडेमीमा लाइसेन्सका लागि दैनिक दुई हजारभन्दा बढी प्रयोगात्मक परीक्षा (ट्रायल दिन) सञ्चालन गर्न सकिने आवश्यक पूर्वाधार रहेको छ तर सरकारले को ‘ट्रायलको कोटा’ निर्धारण गरिदिँदा आफ्नो क्षमता उपयोग गर्न पाएको छैन । एकेडेमीले सामाजिक दायित्वअन्तर्गत कोरोनाका बन्दाबन्दीका समयमा गर्भवती, मिर्गौला, मुटु, क्यान्सर, फोक्सोका बिरामीलाई आफ्ना सवारी साधनमार्फत अस्पताल जान र आउन निःशुल्क यातायातको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्