कांग्रेस सचिवमा उम्मेदवारी घोषणा



हेटौंडा, (नेस) ।

नेपाली कांग्रेसको मकवानपुर क्षेत्र नम्बर–२ का निवर्तमान संघीय सभापति यतीराज सापकोटाले आसन्न अधिवेशनमा जिल्ला सचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ । २०५६ सालदेखि कांग्रेसमा रहेर राजनीतिमा निरन्तर सक्रिय उहाँले जिल्ला तहको निर्वाचनमा सचिवमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो ।

आफ्नोे चाहना कांग्रेस मकवानपुरको कुशल एवम् व्यवस्थित संगठन विस्तार गर्ने, गुटउपगुट राजनीति अन्त्य गर्दै पार्टी र कार्यकर्ताप्रति इमानदार नेतृत्व चयन गर्ने भएको उहाँको भनाइ छ । पार्टीको जिल्ला सचिवालयलाई प्रविधियुक्त र १ सय २ वटै वडा कार्यसमितिलाई प्रविधिमैत्री बनाउने सापकोटाको योजना छ । पार्टी कार्यालयबाट एकैसाथ वडास्तरसम्म निर्देशन, जानकारी पठाउन सकिने र वडास्तरबाट पनि गुनासो वा केही सुझाव भए तत्काल जिल्ला सचिवालयमा प्राप्त गर्न सकिने व्यवस्था मिलाइने उहाँ बताउनुहुन्छ ।

क्रियाशील सदस्यहरूलाई क्षमता र दक्षताअनुसार परिचालन गर्ने, भ्रातृ संगठनहरूलाई थप गतिशील र मजबुद बनाउने, विषयगत, भ्रातृ तथा सुभेच्छुक संस्थाहरूको समस्या समाधानको पहल गर्ने, पार्टीको विधानले निर्दिष्ट गरेअनुसार सबै तहको नियमित बैठक र अभिलेखीकरण गरी त्यसको कार्यान्वयनको चरणमा लैजान समन्वयकारी भूमिका निर्वाह गर्ने तथा तरुणलाई स्वावलम्बी तथा उत्पादनमा केन्द्रित बनाउने सापकोटाको भनाइ छ ।

विशेषगरी आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई वडा, पालिका, प्रादेशिक क्षेत्र तथा संघीय क्षेत्रमा जिताउन डटेर लाग्ने उहाँले बताउनुभयो । कांग्रेसलाई बढी लोकप्रिय बनाउन, बढी जनताको भरोसा र विश्वास जित्न आधार तयार गर्न दत्तचित्तले सदैव लागिपर्ने सापकोटा बताउनुहुन्छ ।

२३ वर्ष उमेरमा कांग्रेसको युवा संगठन नेपाल तरुण दल गाउँ समितिको सदस्य हुनुभएका उहाँले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर लामो समय काम गरेको अनुभव बटुल्नुभएको छ । समाजमा भएका विकृति/विसंगति, विभिन्न हिंसा र अन्यायपूर्ण गतिविधि अन्त्य गर्दै सभ्य र समृद्ध समाज निर्माण गर्नुपर्छ भन्ने मान्यताले उहाँलाई राजनीतिमा निरन्तर क्रियाशील रहन प्रेरित गरिरह्यो ।

समाज रूपान्तरणका लागि राजनीतिमार्फत् केही गर्नुपर्छ भन्ने धारणा बोकेर अघि बढ्दै गर्दा २०६४ सालमा भएको ११ औं अधिवेशनमा उहाँ कांग्रेसको गाउँ समितिको प्रवक्ता हुनुभएको थियो । १२ औं अधिवेशनबाट भने उहाँ गाउँ समिति सचिव चुनिनुभयो । उहाँले तरुण दल मकवानपुरको सचिवको जिम्मेवारी पनि सम्हाल्नुभयो । १३औं अधिवेशनबाट मकवानपुर क्षेत्र नम्बर–२ को संघीय सभापति निर्वाचित हुनुभयो ।

२०६४ मा चुनाव प्रचारप्रसारका क्रममा सापकोटा अपहरणमा पर्नुभएको थियो । त्यसअघि २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर ‘कु’ गर्दा तानाशाही प्रवृत्ति र निरंकुश राजतन्त्र तथा केन्द्रीकृत शासन व्यवस्थाविरुद्ध विभिन्न चरणमा आन्दोलन चर्किएको थियो । उक्त आन्दोलनमा सापकोटा अग्रभागमा हुनुहुन्थ्यो हेटौंडामा बन्द भएका उद्योग पुनःस्र्थापित गराउने उद्देश्यसाथ उहाँकै नेतृत्वमा कांग्रेसले विभिन्न आन्दोलन गरेको थियो ।

पार्टीको महाधिवेशनअन्तर्गत मकवानपुर अधिवेशनको चुनाबी सरगर्मी शुरू भएको छ । अधिवेशनले उत्साह छाएको बेला जिल्ला नेतृत्व, पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालिएको छ । विगतमा भन्दा यस वर्ष युवापुस्ताको सक्रियता बढेको छ । कांग्रेस मकवानपुरले १ सय २ वटै वडा, १० वटा उपमहानगर/नगर/पालिका, ४ वटा प्रादेशिक र २ वटा संघीय तहको अधिवेशन सम्पन्न गरिसकेको छ । मकवानपुरको अधिवेशन पुस २७ गतेका लागि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्