कविताको श्रीवृद्धिमा कविशिरोमणिको विशिष्ट योगदान



काठमाडौं, (नेस) ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा कविशिरोमणि लेखनाथ पौड्यालको १३८ औं जन्मजयन्ती प्रज्ञा भवन परिसरमा अवस्थित कविशिरोमणि लेखनाथ पौड्यालको प्रतिमामा माल्यार्पण गरी मनाइएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव श्याम तमोट, नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कविशिरोमणि पौड्यालको प्रतिमामा माल्यर्पण तथा पुष्पगुच्छा अर्पण गरी श्रद्धा प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली कविताको श्रीवृद्धिमा कविशिरोमणि लेखनाथ पौड्यालको महत्वपूर्ण र विशिष्ट योगदान रहेको बताउनुभयो । उहाँले कविशिरोमणि प्रकृति र मानवतावादी कवि भएको विचार व्यक्त गर्नुभयो ।नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले नेपाली कविता फाँटमा विशिष्ट योगदान दिनुहुने कविशिरोमणिको योगदान शदियौँ चिरस्मरणीय रहिरहने विचार व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कविशिरोमणि पौड्यालको योगदानलाई जीवन्त राख्नका लागि परिवारजन तथा अन्यत्रबाट पनि आवश्यक कार्य भइरहेको बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका साहित्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कविशिरोमणि लेखनाथ पौड्यालको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुभएको थियो । सो क्रममा उहाँले कविशिरोमणि पौड्लयालका कवितामा आध्यात्मिक मानवतावाद पाइने धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कवि लक्ष्मी गौतमले कविशिरोमणिद्वारा रचित ‘तरुण तपसी’ र कवि रञ्जना आत्रेयले ‘चरीको विलाप’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्