स्पान्योलसँग भ्यालेन्सिया पराजित



मेड्रिड, (एजेन्सी) ।

स्पेनिस ला लिगाको मध्यम टोली भ्यालेन्सियालाई स्पान्योलले पराजित गरेको छ । शुक्रबार राति भएको १९औं राउन्डको खेलमा भ्यालेन्सिया स्पान्योलसँग २–१ गोललअन्तरले पराजित भएको हो । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको भ्यालेन्सियालाई हराउन स्पान्योलका राउल डे टोमस र जाभी पाउडोले गोल गरे । भ्यालेन्सियाका ओमार अल्डेरेटको गोल सान्त्वना गोलमा परिणत भयो ।

सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा सुवाती अग्रता भ्यालेन्सियाले लिएको थियो । खेलको ५१औं मिनेटमा ओमार अल्डेरेटले हेल्डर कोस्टाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । तर, ८३औँ मिनेटमा हुगो डुरो दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा समेटियो । लगत्तै पाहुना टोली स्पान्योलले पेनाल्टी गोलमार्फत खेललाई बराबरीमा ल्यायो । राउल डे टोमसले पेनाल्टीको सदुपयोग गरे ।

खेलको ८८औं मिनेटमा भने जाभी पाउडोले जोफ्रे क्यारेरसको पासमा गोल गर्दै स्पान्योललाई महत्वपूर्ण जित दिलाए । ६३ प्रतिशत बल पोसेसन राखेको स्पान्योलले खेलभर १५ वटा पोस्ट प्रहार गरेको थियो । १० खेलाडीमा समेटिएपछि कमजोर देखिएको भ्यालेन्सिया हार खेप्न बाध्य बन्यो । स्पान्योलका जोफ्रे क्यारेरस ‘म्यान अफ दी म्याच’ भए । जितसँगै स्पान्योलले १९ खेलबाट २६ अंक बनाएको छ । हारसँगै भ्यालेन्सियाको समान खेलबाट २८ अंक छ ।

प्रतिक्रिया दिनुहोस्