नयाँ नेतृत्व छान्न निर्वाचन कार्यतालिका सार्वजनिक

बन्दसत्र आज दिउँसोसम्मका लागि स्थगित



काठमाडौं ।

नेपाल कम्यनिस्ट पार्टी माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ । जारी बन्द सत्रमा सहमतिबाटै केन्द्रीय सदस्य चयनको विषयमा विवाद भएपछि माओवादी केन्द्रको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको कार्यक्रमअनुसार शनिबार नै उम्मेदवारहरूको मनोनयनपत्र दर्ता सूची प्रकाशन गर्ने र आज मतदान गर्ने कार्यतालिकाको रहेको थियो । तर, निर्वाचन समितिले कार्यक्रमको तालिका सार्वजनिक गरेपनि पार्टीभित्र सहमतिको प्रयास गर्ने भन्दै माओवादीको बन्द सत्र आज (आइतबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको छ । सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि थप गृहकार्य गर्नुपर्ने भएकोले बन्दसत्र स्थगित गरिएको निर्वाचन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

शनिबारको बन्दसत्रमा पार्टी अध्यक्ष प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले बन्दसत्र आइतबार १ बजेसम्मका लागि स्थगित गर्न प्रस्ताव गर्नुभएको थियो । सोही प्रस्तावबमोजिम बन्दसत्र स्थगित गरिएको प्रचार तथा प्रकाशन उपसमितिद्वारा शनिबार साँझ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नयाँ विधानअनुसार पार्टीको २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने जनाइएको छ । निर्वाचन समितिले भने महाधिवेशनस्थल प्रज्ञा भवनमा १ हजार ७४२ जनाको प्रतिनिधिहरूको नामावली प्रकाशित गरिसकेको छ । माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरूले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछ ।

माओवादीका शीर्ष नेताहरू शनिबार दिनभर नै सहमतिबाटै केन्द्रीय सदस्यको नामावली घोषणा गर्ने गृहकार्यमा जुटेका थिए । तर, केन्द्रीय सदस्य बन्ने आकांक्षीहरूको संख्या बढी भएकाले सबैको व्यवस्थापन गर्न कठिन हुने निष्कर्षसहित निर्वाचन प्रक्रियाबाटै केन्द्रीय सदस्य चयनको प्रक्रिया अगाडि बढाउने निर्णयमा पुगेका थिए । पार्टीमा यसअघि केन्द्रीय सदस्य रहेका सबैले दोहोरिने चाहना राखेको र नयाँ आकांक्षीको संख्या पनि सोही संख्या बराबर भएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचनबाटै अगाडि बढ्ने निष्कर्षमा पुगेको एक नेताले बताए । प्रचण्डले यसअघि नै सहमति नभएमा मतदानमा जाने घोषणा गर्नुभएको थियो ।

अन्य पार्टीको महाधिवेशनमा नयाँ नेतृत्वको टुंगो निर्वाचनको माध्यबाटै लगाइएको सन्दर्भमा माओवादीलाई पनि निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने दबाब परेको छ । पार्टीमा यसअघि नेतृत्वको वरिपरि बस्नेले मात्र पद पाउने गरेको भन्दै युवा पुस्ताले नेतृत्वलाई निर्वाचनबाटै अगाडि बढ्नुपर्ने दबाब दिँदै आएका छन् ।

यसअघि, माओवादीले वागमती प्रदेश कमिटी र एक नम्बर प्रदेश कमिटीमा सहमति जुटन नसकेपछि पहिलोपटक निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेको थियो । सहमतिको नाममा नेतृत्व र केन्द्रीय सदस्य चयन गर्दा पार्टीले लिएको विचार कार्यान्वयन हुन नसक्ने भन्दै बन्द सत्रमा आफ्नो धारणा राख्ने अधिकांश प्रतिनिधिहरूले निर्वाचनबाटै अबको नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्