राजनीतिमा लाग्न उपप्राध्यापकबाट राजीनामा



काठमाडौं, (नेस) ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति बन्न त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. प्रेमध्वज लामाले पदबाट राजीनामा दिनुभएको छ । इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका उपप्राध्यापक लामाले भर्खरै पीएचडी उपाधि हासिल गर्नुभएको थियो ।

राजनीतिका लागि पदबाट राजीनामा दिएका उपप्राध्यापक डा. लामाले भन्नुभयो– ‘राजनीतिमा केन्द्रित हुन यही २७ गते नेपाली कांग्रेसको सिन्धुपाल्चोक सभापतिको उम्मेदवारी दिन मैले राजीनामा दिएको हुँ । राजनीतिमा लाग्ने सबैले पदबाट राजीनामा दिनुपर्छ । राजनीतिलाई छानेपछि पदको लाभ लिनुहुँदैन ।’ विभागका मुख्य कार्यालय सहायक इन्द्रकुमारी महर्जनका अनुसार डा. लामाले शुक्रबार विभागमा राजीनामा बुझाउनुभएको हो ।

राजनीतिमा लागेका त्रिविका अन्य कर्मचारीले हालसम्म राजीनामा दिएका छैनन् । नेताको आडमा राजीनामा नदिएका कर्मचारीलाई त्रिविले कारबाही गर्ने जनाएको छ । २०४९ सालदेखि सक्रिय राजनीतिमा होमिएका डा. लामा सिन्धुपाल्चोकका पुराना नेता हुनुहन्छ । उहाँ सिन्धुपाल्चोक जिल्लाका नेपाल विद्यार्थी संघको अध्यक्षसमेत भइसक्नुभएको छ ।

२०५८ सालदेखि त्रिवि केन्द्रीय विभागमा अध्यापन शुरू गर्नुभएका डा. लामा ०६४ सालमा करार सेवामा प्रवेश गर्दै ०७४ सालमा स्थायी हुनुभएको थियो । यसै वर्ष विद्यावारिधि सक्नुभएका डा. लामालाई राजीनामा नदिन विभिन्न तहबाट दबाब परेको थियो । तर, उहाँले आफूले नैतिकता देखाएर राजीनामा दिएको जिकिर गर्दै भन्नुभयो– ‘मजस्ता अन्य शिक्षक तथा कर्मचारीले पनि राजनीतिक आस्था बोकेर जागिर खानु हुँदैन ।’

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको समर्थनमा उहाँले जिल्ला सभापति पदका लागि उम्मेदवारी दिन लाग्नुभएको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले सरकारी सेवासुविधा लिएका बहालवाला शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन र प्रतिनिधि बन्न बन्देज गरेको छ । सोही ऐनको आधारमा त्रिविले राजनीतिमा लाग्ने शिक्षक कर्मचारीलाई तत्काल राजनीति छाड्न चेतावनीसहितको सूचना जारी गरेको थियो । सोही आधारमा उपप्राध्यापक डा. लामाले राजीनामा दिनुभएको हो ।

नेपाली कांग्रेसले सिन्धुपाल्चोकसहित १६ जिल्लामा पुस २७ गते जिल्ला अधिवेशनको मिति तय गरेको छ । डा. लामा कांग्रेसको संस्थापन समूह निकटका हुनुहुन्छ । सिन्धुपाल्चोक सभापतिका लागि संस्थापनइतर समूहबाट वंशलाल तामाङको नाम चर्चामा छ । डा. लामा क्षेत्र नम्बर १ का हुनुहुन्छ भने तामाङ २ नम्बर क्षेत्रका हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्