माओवादीको विधान परिमार्जनसहित पारित



काठमाडौं, (नेस) ।

माओवादी केन्द्रको विधान परिमार्जनसहित सर्वसम्मत रूपमा पारित भएको छ । शनिबार स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएलगत्तै पार्टी विधान पारित थियो । सुझावहरू समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रूप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेपछि महाधिवेशनको बन्दसत्रमा सर्वसम्मतिले पार्टीको विधान पारित गरेको हो ।

विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ भएको छ । माओवादीको विधानअनुसार अब केन्द्रीय कमिटीको संख्या २९९ सदस्यीय हुनेछ । यसअघि, केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा त्यसलाई बढाएर १५ प्रतिशत पु¥याइएको नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो ।

अनुमोदित विधानअनुसार अब पदाधिकारी संख्या १५ हुनेभएको छ । विधानअनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन गरिने व्यवस्था विधानमा गरिएको छ । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने सुनिश्चितता विधानमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्