सशस्त्र प्रहरी परिवार महिला संघद्वारा जनचेतनामूलक कार्यक्रम आयोजना



पोखरा ।

नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीमा बिहिबार ‘महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम’को आयोजना गरेको छ ।

महिला स्वास्थ्य सम्बन्धी विभिन्न जानकारी दिनका लागि आयोजना गरिएको उक्त जनचेतनामूलक कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले महिलाको पाठेघर तथा स्तनमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी अपनाउनुपर्ने सुरक्षात्मक उपाय, समाधान र उपचारका विधिहरु बारेमा जानकारी दिएका थिए ।

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालको प्रमुख आतिथ्यमा संचालन भएको उक्त जनचेतनामूलक कार्यक्रममा गण्डकी प्रदेशका सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्की, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन मातहत महिला सशस्त्र प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारका एक सय जना महिला सदस्यहरुकोसमेत उपस्थिती रहेको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीका बाहिनीपती, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनका समादेशक लगायत सो बाहिनी मातहतका सिनिय तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्