बनेपाको विद्यालयमा बीपीएच कार्यक्रम



काभ्रे ।

व्यापारिक र शैक्षिक नगरीका रूपमा चिनिन थालेको बनेपामा पहिलोपटक काठमाडौं विश्व्विद्यालयसँगको शैक्षिक साझेदारीमा बेलर इन्टरनेसनल एकेडेमी विद्यालयले बीपीएच कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

काठमाडौं विश्वबिद्यालयका रजिस्ट्रार प्राडा सुबोध शर्मा र ग्यालेसियर एडुकेसनल फाउन्डेसन प्रालिका अध्यक्ष भोला थापाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रमसम्बन्धी सम्झौता गर्दै विश्वविद्यालय र विद्यालयका तर्फबाट होटल व्यवसाय फस्टाउँदै गए पनि पर्यटकीय नगरी धुलिखेल तथा आसपासका क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको जनशक्ति आवश्यक हुँदा थप शिक्षा आर्जन गर्न राजधानी जानुपर्ने बाध्यताको अन्त्य भएको बताइएको छ ।

काठमाडौं विश्वविद्यालयको स्वीकृत शैक्षिक कार्यक्रमअन्तर्गत रही ग्लेसियर एजुकेसनल फाउन्डेसनले बेलर केयू शैक्षिक सत्र २०२१/२०२२ देखि ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी (बीपीएच) कायक्रमअन्तर्गत ३० जना विद्यार्थीले भर्नाका लागि आवश्यक तयारी पूरा गरेको प्रिन्सिपल इन्दु थापाले जानकारी दिनुभयो । ‘दक्ष जनशक्ति अभावका कारण पर्यटन क्षेत्रमा भएको समस्यालाई थोरै भए पनि समाधान गर्न सहज होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम सम्झौता गरिएको हो’, उहाँले भन्नुभयो– ‘यो कार्यक्रमले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउन कोसेढुग्गा सावित गराउने विश्वास लिएका छौं ।’

काभ्रेको बनेपामा लामो समयदेखि शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बेलरले विद्यार्थी र अभिभावकको मन जित्दै आएको छ । जिल्ला र आसपासका क्षेत्रका विद्यार्थीको भविष्यलाई ध्यान दिँदै यसै शैक्षिक सत्रदेखि बीपीएच अध्यनका लागि भर्ना प्रारम्भ गरिने विद्यालयका प्रिन्सिपल श्रीमती इन्दु थापाले बताउनुभयो । सर्भिस क्षेत्रमा विद्यार्थीहरुको बढ्दो आर्कषण भए पनि होटल मेनेजमेन्ट गरेपछि (दक्षता हासिल) स्नातक तहको शिक्षा आर्जन गर्न राजधानी धाउन पर्ने वा अरू नै विषय रोज्नुपर्ने बाध्यता उक्त कार्यक्रमबाट केही हदसम्म विद्यार्थीका लागि कमी हुने भएको छ ।

प्रयोगात्मक विषय भएकाले स्वदेश, विदेश वा कुनै पनि स्थानमा रहेर आत्मर्निभर बन्न मद्दत पुग्ने हुँदा युवाको यस क्षेत्रमा आकर्षण बढेको छ । चारवर्षे कोर्ष रहेको र पूरा गरुन्जेल विद्यार्थीले प्रयोगात्मकमा काम गर्दा आउने रकमलाई जोगाउन सके विद्यालय र विश्वविद्यालयमा तिर्ने शुल्क निकै कम लाग्ने बीपीएचका कोडिनेटर अनुप थापाले बताउनुभयो । केयू बेलर सञ्चालनमा आएपछि सम्झौता भएबमोजिम काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले तोकिएको मापदण्डअनुसार शैक्षिक कार्यक्रमको सुपरीवेक्षण तथा रेखदेख गर्ने छ ।
पर्यटन क्षेत्रले विश्वभर आर्थिक समृद्धि हासिल गरिरहेको सन्दर्भमा उक्त विषयको अध्ययनले झनै सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्