सेनाले हटायो सडकको हिउँ, राजमार्ग सुचारू



बैतडी/डोटी ।

नेपाली सेनाले बैतडीस्थित दशरथचन्द राजमार्गमा जमेको हिउँ हटाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको छ । हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकी नेतृत्वको टोलीले राजमार्गअन्तर्गत देहिमाडौं, कठपते, शतबाँझलगायतका क्षेत्रको हिउँ हटाएको हो ।

बुधबारदेखि परेको भारी हिमपातले राजमार्ग अवरुद्ध र जनजीवन प्रभावित हुन थालेकाले सडकको हिउँ हटाइएको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानाले जानकारी दिनुभयो । यसका साथै कठपतेमा रहेको टेलिकमको टावर आसपास क्षेत्रको हिउँ पनि हटाएको उहाँले बताउनुभयो । ‘सवारी दुर्घटना हुन सक्ने, विद्युत् सेवा, इन्टरनेट, सञ्चार सेवा तत्काल सुचारु गर्न हिउँ हटाएका हौं’, उहाँ भन्नुहुन्छ– ‘आपत्विपत्मा नेपाली सेना सधैं साथमा रहेको सन्देश दिन हामीले पछिल्लो समय सामाजिक कार्य, विपत्मा परेकाको उद्धारलगायतका काम गरिरहेका छौं ।’

यस्तै, भारी हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द र जयपृथ्वी राजमार्ग सुचारु भएको छ । खोडपे, अनारखोली, ढोल्यामोडलगायतका क्षेत्रमा जमेको हिउँका कारण बुधबार बिहानैदेखि अवरुद्ध बनेका राजमार्ग दिउँसोपछि सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्का बताउनुभयो । यसैबीच वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । यो वर्ष समयमै हिउँ परेकाले हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

भीमदत्त राजमार्ग सूचारू
हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु भएको छ । सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सुचारु भएको हो ।

गैरा, साहुँखर्क र हगेल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यहाँको यातायातसेवा बिहानदेखि अवरुद्ध हुँदा दर्जनौं सवारीसाधन तथा यात्रु बीच बाटोमै अल्पत्र परेका थिए । राजमार्ग सुचारु भएसँगै जाममा परेका सवारीसाधन तथा यात्रुहरु आ–आफ्नो गन्तव्यतिर लागेको घण्टेश्वर प्रहरी चौकी गैराले जनाएको छ । यहाँका पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा अहिले पनि हिमपात जारी रहेको प्रहरी सञ्चारले जनाएको छ ।

यसै गरी, सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गए रातिदेखि हिमपात भइरहेको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । हिमपातले नागरिकलाई घरबाहिर निस्किन सकस भइरहेको बताइएको छ । हिउँ करिब एक फिट जति परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ ।

हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयबासीले जानकारी दिएका छन् । हिमपात भएपछि लेकाली क्षेत्रमा लगाइको गहुँ खेती सप्रिने भन्दै किसान खुसी भएका केआईसिंह गाउँपालिकाका स्थानीयवासी जहरसिंह खवासले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्