होटलमा नेता राखेर तालको संरक्षण हुँदैन : गृहमन्त्री खाँण



पोखरा ।

नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले ठूला नेतालाई ल्याएर मापदण्डविपरीतका ठूला होटलमा राख्दैमा फेवातालको संरक्षण नहुने बताउनुभएको छ । बिहीबार पोखरामा शुरू भएको सडक महोत्सवको उद्घाटन समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

‘प्रतिवेदनभित्र फेवातालको सिमाङ्कनमै पर्ने ठूला होटलमा ठूला नेताहरुलाई राख्दिने, अनि यता भाषण गर्न लगाउने ? गृहमन्त्री खाँणको प्रश्न छ– ‘अहिले आफैं मम भन्नेर सम्झिनुहोस्, म भन्न चाहान्न । अनि ठूला नेता उद्घाटनभन्दा अघि नै हिँडे पनि होटलको भित्तामा चाँहि प्लेट राख्ने फलानोद्वारा समुद्घाटन भनेर ।’ उहाँले फेवाताल संरक्षण गर्न राज्य सधैं तयार रहेको सुनाउनुभयो । फेवा संरक्षणमा मञ्चबाट भाषण दिनेले नै कार्यान्वयन गर्न अघि सर्नुपर्ने बताउँदै खाँणले कार्यान्वयनका बेला नभाग्न आग्रहसमेत गर्नुभयो ।

२ वर्षअघि फेवाताल नजिकै मापदण्डविपरीत रहेको होटल स्विस इन्टरनेसनल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । मापदण्डविपरीतको होटलमा आराम गर्नुभएको प्रधानमन्त्री ओली निकै आलोचना भएपछि फर्किनुभएको थियो । त्यही होटलमा उहाँले आराम गर्नुभएको थियो । ओलीले औपचारिकरूपमा उद्घाटन नगरे पनि अनौपचारिकरूपमा भने उद्घाटन गर्नुभएको थियो । सोहीलाई गृहमन्त्री खाँणले संकेत गर्नुभएको हो ।

मन्त्री खाँणले भाषण गर्ने व्यक्तिले बोलेको कुरा कार्यान्वयन गर्न तयार रहे आफू काठमाडौं पुगेलगत्तै उक्त विषयलाई कार्यान्वयन गराउन निर्देशन दिने ठोकुवा गर्नुभयो । पोखरामा मात्रै नभई देशभर नै मापदण्डविपरीत भवन तथा संरचनाहरु बनेको उहाँको भनाइ थियो ।

‘पोखराका होटलहरु २४ सै घण्टा खुला रहोस् भन्ने मेरो चाहना छ’, अर्को प्रसंगमा मन्त्री खाँण भन्नुहुन्छ– ‘यो पर्यटकीय क्षेत्र हो, यहाँका रेस्टुरेन्ट खुला हुनुपर्दछ ।’ तर, २४ घण्टा खोल्नका लागि पहिला स्थानीय नागरिकको स्वीकृत लिन व्यावसायीहरुलाई उहाँले आग्रह गर्नुभयो । स्थानीयले रातभर खोल्दा निद्रामा समस्या आउने र शान्ति नहुने भन्दै विरोध गर्दै आउँदा खोल्न समस्या परिरहेको छ । मन्त्री खाँणले पोखराका निश्चित क्षेत्रलाई रातको समयमा समेत खुला गर्न स्थानीयले साथ दिए प्रशासनले कुनै रोकावट नगर्ने बताउनुभयो । ‘स्थानीयलाई तपाईंहरु मनाउनुहोस्, हामी तयार छौं । म प्रशासन र प्रहरीलाई पनि निर्देशन दिन्छु ।’ –उहाँको कथन छ ।

प्रहारीको काम राति रेस्टु्रेन्ट बन्द गराउँदै हिँड्ने नभएई व्यवसायी, सेवाग्राहीलाई सुरक्षा दिने रहेको उहाँले सुनाउनुभयो । खाँणले नाइट लाइफको शुरुआत पोखराबाटै गर्न समेत आग्रह गर्दै परीक्षणका लागि भए पनि अब लेकसाइड क्षेत्रलाई २४सै घण्टा खुला राख्न जिल्ला प्रशासन कार्यालय कास्कीलाई निर्देशन दिनुभयो । २४सै घण्टा खुला गर्दा देशको अर्थतन्त्रमा समेत वृद्धि हुने उहाँको तकृ छ ।

लेकसाइडमा वर्षेनी आयोजना हुने सडक महोत्सबको २३औं संस्करण बिहीबारदेखि शुरु भएको हो । रेस्टुरेन्ट एन्ड बार एसोसियनस अफ नेपाल (रेबान) को आयोजनामा भएको महोत्सव तीन दिनसम्म चल्ने छ । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा कोरोनाविरुद्धको खोपसमेत लगाइने भएको छ । गण्डकी सरकारसँग सहकार्य गरेर जोन्सन एन्ड जोन्सन खोपको व्यवस्था गरेको रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताउनुभयो ।

‘सडक महोत्सवमा सहभागी करिब ५ सय जनालाई खोप लगाउने व्यवस्था मिलाएका छौं’, उहाँले भन्नुभयो– ‘महोत्सवमा सहभागी सबैलाई मास्क लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न भनेका छौं ।’सडक महोत्सवमा लेकसाइडको शहीदचोकदेखि खहरेचोकसम्म ३ किलोमिटर क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरिएको छ । महोत्सवमा सातै प्रदेश र गण्डकीका ११ वटै जिल्लाबाट आ–आफ्नो पहिचान झल्कने सांस्कृतिक प्रदर्शनीसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्