सुत्केरीलाई अण्डा र भत्ता वितरण



पाल्पा, (नेस) ।

स्वास्थ्य संस्थामा सुत्केरी नभई घरमै सुत्केरी हुँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने भएकाले भत्ता एवं अण्डा वितरण गरिएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाले सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा नै सुत्केरी गराउनका लागि अभियान सञ्चालन गरी वडा नम्बर ७ पालुङमैनादीका सुत्केरीलाई भत्ता एवं अण्डा वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले नगद एवं अण्डा वितरण गर्दै स्वास्थ्य संस्थाको बैठकबाट मिति २०७८ पु्स १ गतेदेखि लागू हुने गरी सबै स्वास्थ्य संस्थाका गर्भवतीहरुलाई अण्डा वितरण गर्ने, महिलाहरुको गर्भावस्थामा आवश्यक पर्ने थप पोषण महत्वका बारेमा जानकारी गराउने, गर्भ अवस्थामा हुने स्वास्थ्य जटिलतालाई कम गर्ने र शून्य होम डेलिभरी गरी पूर्णरूपमा सिंगो पालिकालाई नै पूर्ण संस्थागत सुत्केरी गराउने अभियानमा लागेको बताउनुभयो ।

यही उद्देश्यअनुसार पोषण कार्यक्रमलाई बजेट विनियोजित गरिएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो । हरेक गर्भवती महिलाले गर्भ अवस्थामा अनिवार्यरूपमा चारपटक परीक्षण गर्नुपर्ने र परीक्षण क्रममा स्वास्थ्य संस्था आउँदा एकपटकमा ३० वटाका दरले १ सय २० वटा अण्डा गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ ।

गाउँपालिकाले नेपाल सरकारले तोकेबमोजिमको अति गरिब परिवारलाई निःशुल्क सुत्केरी गराउने, पालिकाभित्रका तथा अन्य स्वास्थ्य संस्थामा सुत्केरी भएमा गाउँपालिकाले आमा र बच्चाका लागि १ हजार ५ सय रकम प्रदान गर्ने कार्य गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्