कार्कीको सयदिने साइकल यात्रा



दोलखा ।

दोलखा कालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका युवा अभियन्ता अभिनय कार्कीले बिहीबारबाट सयदिने साइकल यात्रा शुरु गरेका छन् । देशको ७७ जिल्लामा पुगेर दोलखाको पर्यटन प्रवद्र्धन गर्ने तथा लागू औषधसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया गर्ने उद्देश्यले उनले यात्रा गरेका हुन् ।

दोलखा सदरमुकाम चरिकोटको सातदोबाटो चोकबाट शुरु भएको उनको साइकल यात्राको शुभारम्भ जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे र कालिञ्चोक गाउँपालिकाका प्रमुख विनकुमार थामीले संयुक्तरूपमा गर्नुभएको थियो । फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुव्र्यसनलाई त्यागौं, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरु एकजुट बनौं’ भन्ने नारासहित शुरु भएको आफ्नो साइकल यात्रा हरेक जिल्लाको सदरमुकामसम्म पुग्ने र प्रत्येक जिल्लाको सदरमुकाममा विद्यार्थी, बुद्धिजीवीलगायत सँग लागूऔषधसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया गर्ने अभियन्ता अभिनय कार्कीले बताउनुभयो । अन्तरक्रियाको क्रममा प्राप्त सुझावको आधारमा आगूऔषधविरुद्ध अभियान सञ्चालन तथा पुस्तक प्रकाशन आफ्नो लक्ष्य रहेको उहाँको भनाइ छ ।

तमु ल्होसारको अवसरमा दोलखामा रहेको प्रसिद्ध कालिञ्चोक मन्दिर परिसरबाट साइकल यात्रा आरम्भ गर्ने आफ्नो लक्ष्य रहेको भए पनि त्यस क्षेत्रमा लगातार हिमपात भइरहेकाले आफूले सदरमुकाम चरिकोटबाटै यात्रा शुरु गरेको कार्कीले बताउनुहुन्छ । उहाँले गत बर्षको फागुनमा विश्व शान्तिको कामनासहित पूर्व–पश्चिम पैदल यात्रा सफलतापूर्वक सम्पन्न गरिसक्नुभएको छ ।

अभियन्ता कार्कीको साइकल यात्राका लागि दोलखाको कालिञ्चोक गाउँपालिकासहित सबै स्थानीय तह, विभिन्न संस्था र व्यक्तिले आर्थिक सहयोग गरेका छन् । आफ्नो यात्राको क्रममा अन्य जिल्लाबाट समेत सबै प्रकारको सहयोग प्राप्त हुने अपेक्षा आफूले लिएको कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्