बाँकेमा ओली र देउवाको ‘सिग्नल’ कसलाई ?



बाँके ।

बाँकेमा दुई ठूला राजनीतिक दलमा चुनावी सरगर्मी शुरू भएको छ । नेकपा एमालेको पुस २३ गते र नेपाली कांग्रेसको पुस २७ गते जिल्ला अधिवेशन हुने भएपछि नेतृत्व हत्याउन नेताहरू दौडधुपमा लागेका छन् ।

एमाले बाँकेमा हालका अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किस्मतकुमार कक्षपति र सचिव रत्न खत्रीले अध्यक्षका लागि कसरत थालेका छन् । एमालेले ‘सहमति’ मै जोड दिइरहेको छ । तीनै जनाले नेतृत्वको दाबी नछोड्दा चुनावमा जान सक्ने नेताहरू बताउँछन् ।

बाँकेमा एमालेका पाँच जना केन्द्रीय सदस्य रहेका छन् । केन्द्रमा जसको नाममा सिग्नल आउँछ, कार्यकर्ताहरू उतै लाग्ने देखिन्छ । एमालेका सचिव खत्रीले आफूसहित गुरुङ र कक्षपतिको अध्यक्षमा दाबेदारी रहेको बताउनुभयो ।

यता, कांग्रेसमा सात जनाले सभापतिका लागि दाबी गरेका छन् । संस्थापन समूहबाट ६ जनाले दाबी गर्दा डा. शेखर कोइराला समूहबाट नारायण गौडेलको एक्लो दावेदारी रहेको छ । संस्थापन समूहबाट लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, संविधान सभा सदस्य बाहसाह कुर्मी, निरञ्जनसिंह सिजापति, राजकुमार बर्मा, सुनिलनरसिंह राणा र लक्ष्मीनारायण शाहले सभापतिका लागि दाबी गरेका छन् । यीमध्ये केहीले पत्रकार सम्मेलन गरेर र केहीले साथी सर्कलमा उम्मेदवारी घोषणा गरेका छन् ।

कोइराला परिवारको दबदबा रहेको बाँकेमा यसपाली संस्थापन पक्ष हाबी देखिएको छ । पालिका र क्षेत्रीय सभापतिमा धेरै संस्थापन पक्षले जितेको छ । क्षेत्रीय चुनावका बेलामा डुडुवाका नेता नरेन्द्र चौधरीले गुट परिवर्तन गरेर संस्थापन पक्षतिर आएपछि संस्थापन पक्ष अझ बलियो भएको छ । डुडुवामा चौधरीको एकछापे मत रहेको छ । कोइराला समूहबाट संस्थापन पक्षतिर आउँदा चौधरीले कोइराला परिवारका सदस्यलाई चुनावमा सघाउने बताएकाले कोइराला परिवारबाट सचिवको उम्मेदवारी घोषणा गरेका सुधांशु कोइरालाले डुडुवाको मत पाउने देखिन्छ ।

बाँके कांग्रेसमा कोइरालाको इशाराबाहेक कोही सभापति हुन सकेका छैनन् । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको गृहजिल्ला भएकाले यहाँ कोइराला पक्षले हालीमुहाली रहँदै आएको छ । यसपालिको चुनावमा भने के हुने हो भन्न सकिने अवस्था छैन । संस्थापन पक्षका नेताहरू मिलेर आएमा उनीहरूको पहला भारी देखिन्छ । पहला भारी भएकाले नै सभापतिका आकांक्षी धेरै देखिएका छन् । कोइराला समूहबाट सभापतिको उम्मेदवारी घोषणा गरेका नारायण गौडेल सादगी नेता हुन् । कांग्रेसमा गौडेलको त्याग र योगदान उच्च रहेको छ ।

नेपाली कांग्रेसमा सहमहामन्त्रीमा चुनाव जितेका यस क्षेत्र अर्थात बर्दिया निवासी किशोरसिंह राठौरले संस्थापन समूहलाई मिलाउने नेताहरूले आशा गरेका छन् । देउवानिकट मानिने राठौरले नजर ६ जनामध्ये कसमा पर्छ, त्यो हेर्न बाँकी नै रहेको छ । आठ वटा स्थानीय तहमध्ये पाँच र तीन वटा क्षेत्रमध्ये दुई वटामा क्षेत्रीय सभापति जितेको संस्थापन पक्ष एकमतका साथ निर्वाचनमा होमिएमा बाँकेमा कोइरालाको विरासत ढल्ने आकलन गरिएको छ । संस्थापन पक्षमा धेरै आकांक्षी देखिएकाले त्यसलाई मिलाउनका लागि नै यसअघि तय भइसकेको कांग्रेसको अधिवेशन रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्