तनहुँको व्यास र बर्दियाको ठाकुरबाबा नगरपालिकाबीच मितेरी सम्बन्ध



तनहुँ ।

व्यास नगरपालिका दमौली तनहुँ गण्डकी प्रदेश र ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया लुम्बिनी प्रदेशबीच मितेरी सम्बन्ध गाँसिएको छ । समृद्धिका लागि सँगसँगै भन्ने नारासहित व्यास र ठाकुरबाबा नगरपालिकाले मितेरी सम्बन्ध स्थापनार्थ सम्झौता–पत्रमा मंगलबार आदानप्रदान गरेर सम्बन्ध जोडेका छन् ।

सम्झौता पत्र आदानप्रदान गर्दै ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले दुई नगरपालिकाको मितेरी सम्बन्धले विकासको क्रममा उत्तरदायित्व र कर्तव्य बिर्सन नहुने बताउनुभयो । स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइएको नगर प्रमुख श्रेष्ठको भनाइ छ । धनी र गरिबबीचको दूरी घटाउने प्रयासमा दुई नगरपालिकाले खेल्ने उहाँले बताउनुभयो । सामाजिक क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र पर्यटन क्षेत्रको विकासलाई नगरपालिकाले जोड दिएको उहाँले बताउनुभयो । व्यास अग्रज नगरपालिका भएकोले सिकाइको महत्वपूर्ण योगदान हुने उहाँले बताउनुभयो ।

पहाड र समथर क्षेत्रको खानपिन, उत्पादित वस्तुको आदानप्रदानमा मितेरी सम्बन्धले सहज बनाउने उहाँले बताउनुभयो । व्यापारिक समन्वयमा मितेरी सम्बन्धले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले विश्वास लिनुभयो । ठाकुरबाबा नगरपालिकाले चीनको क्विचिन्वाओ नगरपालिकासँग पनि मितेरी सम्बन्ध कायम गरिसकेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सद्भाव र मित्रता कायम राख्ने प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले जातीय, संस्कृति र राजनीतिक विभेदका कारण विचलन सिर्जना हुने अवस्था रहेकोले त्यसलाई न्यूनीकरण गर्ने जिम्मेवारी पालिकाले पाएको बताउनुभयो ।

पारस्परिक समझदारी र मित्रतालाई सुदृढ गराउँदै साझा विषयवस्तु र सिकाइका क्षेत्रहरू पहिचान गरी दुवै पक्षले संस्कृति, खेलकुद, शिक्षा, कृषि, उद्योग, पर्यटन, वातावरण संरक्षण एवं स्वास्थ्य क्षेत्रका अनुभव साटासाट गर्ने प्रवर्धनमा टेवा पुग्ने उहाँको विश्वास छ । बर्दियाका कला, संस्कृति एकापसमा जिल्लाका तथा नगरपालिकाको जातीय विविधताको प्रवर्धन गर्ने प्रयासरत हुने उहाँको भनाइ छ ।

प्लास्टिकमुक्त नगर बनाउने लक्ष्यका साथ कार्यहरू अगाडि बढिरहेको उहाँले जानकारी गराउनुभयो । पारदर्शिता कायम राख्न सके सधैं विश्वास गर्न सकिने उहाँले बताउनुभयो । व्यास नपा उपप्रमुख मिरा जोशीले अध्यायन गर्ने क्रममा बर्दियाको अध्ययन र अवलोकन गर्ने अवसरले काम गर्न सहज बनाउने बताउनुभयो । व्यासका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले फोहोर व्यवस्थापनका लागि छाडा बस्तुको व्यवस्थित बनाउदै अगाडि बढेको बताउनुभयो ।

पारस्परिक समझदारी र मित्रतालाई सुदृढ गराउँदै साझा विषयवस्तु र सिकाइका क्षेत्रहरू पहिचान गरी दुवै पक्षले संस्कृति, खेलकुद, शिक्षा, कृषि, उद्योग, पर्यटन, वातावरण संरक्षण एवं स्वास्थ्य क्षेत्रका अनुभव साटासाट गर्दै प्रवर्धनमा सहयोग गर्ने सम्झौता भएको छ । मितेरी सम्बन्ध विकास गर्नका लागि दुई नगरपालिका बीच छलफल र आपसी परामर्शको माध्यमबाट थप सुदृढीकरण गर्ने सम्झौता भएको छ ।

दुई नगरपालिकाबीच भएको मितेरी सम्बन्धले गण्डकी र लुम्बिनी प्रदेशको नजिक बनाउने अपेक्षा गरिएको छ । मितेरी सम्बन्ध पारदर्शी बनाएर दुई प्रदेशको नगरपालिकाको रीति, संस्कृति र परम्परा साटासाट तथा पर्यटकीय प्रवर्धनमार्फत समृद्ध बनाउन टेवा पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्