राष्ट्रिय सहमतिबाट मात्रै एमसीसी पास : राठौर



बाँके ।

नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन दलका बीचमा तालमेल गरेर जाने वा नजाने विषयमा यकिन भइनसकेको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सह–महामन्त्रीमा विजय भएपछि पहिलोपटक गृह जिल्ला फर्किएका राठौरलाई नेपालगञ्ज विमानस्थलमा ठूलो संख्याका कार्यकर्ताले स्वागत अभिनन्दन गरेका थिए ।

विमानस्थलमै प्रेस युनियनले राखेको पत्रकार भेटघाटनमा सह–महामन्त्री राठौरले राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन कसरी जाने भन्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवाले मिलाएर लैजाने बताउनुभयो । माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधव नेपालले राष्ट्रिय सभादेखि अन्य निर्वाचनसम्म नै गठबन्धनका बीचमा तालमेल गरेर अघि बढ्ने बताइरहँदा कांग्रेसका सह–महामन्त्री राठौरले यस विषयमा यकिन भइनसकेकाले जे पनि हुन सक्ने बताउनुभयो ।

सह–महामन्त्री राठौरले एमसीसी राष्ट्रिय सहमतिबाट मात्रै पास हुने बताउनुभयो । ‘नेपालको हितका लागि एमसीसी ल्याएका हो । यसमा केही कमी कमजोरी छ भने त्यसलाई हटाएर अघि बढ्नुपर्छ, राठौरले भन्नुभयो, एमसीसी सबैको सहमतिबाटै पारित गर्नुपर्छ ।’पुस २७ गते बाँके कांग्रेसको जिल्ला अधिवेशन हुँदैछ । बर्दिया निवासी सह–महामन्त्री राठौरले बाँकेको नेतृत्व सर्वसम्मत गर्न प्रयास गर्ने बताउनुभयो । बाँकेमा संस्थापन पक्षका ६ जनाले सभापतिका लागि दाबी गरेका छन् । डा. शेखर कोइराला पक्षबाट एक जनाले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । राठौरले सर्वसम्मत पार्टी सभापति चयन गर्ने उद्घोषले संस्थापनका ६ जनामध्ये कसलाई चिठ्ठा पर्छ हेर्न बाँकी रहेको छ । राठौरले कुनै पनि हालतमा सर्वसम्मत हुन नसकेमा चुनावी प्रक्रियामै जाने बताउनुभयो ।

सह–महामन्त्रीसँगै काठमाडौंबाट गृह जिल्ला आएका केन्द्रीय सदस्य मैकुलाल वाल्मीकिलाई पनि नेपालगञ्ज विमानस्थलमा स्वागत गरिएको छ । सुशील कोइरालापछि बाँकेले बाल्मिकीलाई केन्द्रीय सदस्यको रूपमा पाएको छ । सह–महामन्त्री राठौरलाई लिन बर्दियाबाट ठूलो संख्याका नेता तथा कार्यकर्ताहरू नेपालगञ्ज विमानस्थलमा पुगेका थिए । विमानस्थलका सुरक्षाकर्मीले ठूलो भीडलाई नियन्त्रण गर्न सकेका थिएनन् । शुरूमा धावनमार्ग जाने च्यानलगेटमै रोकिएका कार्यकर्ताले धकेलेर गेट खोलेर भित्र पसेका थिए । ठूलो संख्यका कार्यकर्ताका बीचमा एकजना प्रहरी निरीह देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्