कांग्रेसको वरीयता सूची सार्वजनिक

0
Shares

काठमाडौं, (नेस) ।

नेपाली कांग्रेसले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको वरीयतासहितको सूची सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा रहेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा क्रमशः चौथो र पाँचौं वरीयतामा छन् । उनीहरूपछिको वरीयतामा आठ सह–महामन्त्रीहरू छन् ।

सह–महामन्त्रीमध्ये फरमुल्लाह मन्सुर अघिल्लो वरीयतामा रहनुभएको छ । त्यसपछि क्रमशः उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय, भीष्मराज आङदम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार छन् । केन्द्रीय सदस्यमध्ये पूर्वउपसभापति गोपालमान श्रेष्ठ शीर्ष वरीयतामा हुनुहुन्छ । चौधरी १४औं वरीयतामा रहँदा निवर्तमान महामन्त्री डा. शशांक कोइराला १५औं वरीयतामा हुनुहुन्छ ।

सभापतिका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइराला २०औं वरीयतामा पर्नुभएको छ । चित्रलेखा यादव, डा. रामहरण महत, अर्जुन नरसिंह केसी र निवर्तमान सह–महामन्त्री सुनीलबहादुर थापापछि कोइरालाको वरीयता रहेको छ । केन्द्रीय समितिमा थारू महिलातर्फबाट निर्वाचित जीवन राना १ सय ३५औं वरीयतामा रहनुभएको छ ।