वालिङका किसानलाई हाते ट्रयाक्टर मर्मत तालिम



स्याङजा, (नेस) ।

स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका किसानलाई हाते ट्रयाक्टर मर्मतसम्बन्धी तालिम प्रदान गरेको छ । नगरपालिकाले बर्सेनि हाते ट्रयाक्टर वितरण गर्दै आए पनि बिग्रेपछि प्रयोगविहीन हुने समस्या बढ्दै गएकाले किसानलाई मर्मतको तालिम दिइएको हो ।

मर्मत गर्न सिकाएर हाते ट्रयाक्टर सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यका साथ किसानलाई तालिम प्रदान गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । वालिङ नगरपालिका र यूएनडीपी नेपालको साझेदारीमा ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत किसानलाई हाते ट्रयाक्टर मर्मतसम्बन्धी एकहप्ते तालिम दिइएको हो । तालिममा वालिङका १४ वडाका ५० कृषक सहभागी छन् ।

गाउँ गाउँमा हाते ट्रयाक्टर छन्, कतिपय बिग्रेपछि थन्क्याइएको छ, नगर प्रमुख खाँणले भन्नुभयो–प्रयोगविहीन भएपछि नयाँ किन्ने गरेको पाइयो, त्यसैले किसानलाई तालिम दिएर मर्मत गरी पुनः सञ्चालन गर्न सक्ने बनाउने योजना छ । गाउँमै मर्मत गर्न सक्ने भएपछि बजार लैजानुपर्ने बाध्यता हटेर जाने खाँणको भनाइ छ ।

‘मर्मतभन्दा ढुवानीमा बढी रकम र समय खर्च हुने गरेको छ’ – उहाँले भन्नुभयो । मर्मतमा धेरै खर्च हुने भएकाले त्यसलाई जोगाउन पनि किसानलाई सीप सिकाइएको यूएनडीपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्