गाउँकै व्यवसायमा सन्तुष्ट, कमल र कमला



दोलखा ।

ग्रामीण क्षेत्रमा पशुपालन र कृषि पेसा पनि व्यावसायिक हुनसक्छ भन्नेमा धेरैलाई आशंका छ । तर, दोलखा तामाकोशी गाउँपालिका वडा नम्बर–२ झुलेका कमल कार्की भने यो पेसामा सफल हुनुभएको छ । ६ वर्ष दुबई बसेर कमाइ गर्दा पनि सन्तुष्ट बन्न नसकेको उहाँको मन गाउँमै पशुपालन तथा कृषि व्यवसाय शुरू गरेपछि सन्तुष्ट बनेको छ । उहाँको यो पेसालाई सफल बनाउने काममा श्रीमती कमला कार्कीको बलियो साझेदारी छ ।

‘विदेशमा गरिने मेहनत आफ्नै गाउँघरमा गर्ने हो भने परिवारसँगै रमाएर पनि उताको भन्दा बढी आम्दानी गर्न सकिन्छ’ – कमलले भन्नुभयो । आफ्नो यो व्यवसायलाई तामाकोशी गाँउपालिका र प्रदेश सरकारले समेत सहयोग गरेकाले थप बल मिलेको कमलको भनाइ छ । ६ वर्ष दुबई बसेर फर्किएपछि उहाँले २०७० सालबाट आफ्नै गाउँमा बाख्रा, भैंसी तथा कुखुरापालन र मौसमी तथा बेमौसमी तरकारी खेती समेत शुरू गर्नुभयो । व्यवसायले गति लिन थालेपश्चात् २०७४ सालमा कमला बाख्रा तथा कुखुरा फर्म दर्ता गरेर वैधानिक ढङ्गले व्यवसायलाई अगाडि बढाउँदै आउनुभएको छ । अहिले उहाँको फर्ममा ११ वटा बाख्रा, १८ वटा बोका र एउटा भैंसीसमेत रहेका छन् । पशुपालन तथा तरकारी खेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी हुने गरेको कमलले बताउनुभयो ।

पाँच जनाको परिवारमा उहाँको एउटा छोरा काठमाडौंमा इन्जिनियरिङ पढ्दैछन् भने अर्को छोरा अहिले नेपाली सेनामा छन् । छोरी पनि काठमाडौंमै पढ्दैछिन् । परिवारको गुजारा र छोराछोरीको पढाइ पशुपालन तथा कृषि व्यवसायबाटै सम्भव भएको कमलले बताउनुभयो ।

कमल र उहाँकी श्रीमती कमलाको मिहिनेत देखेर तामाकोशी गाउँपालिकाले शुरूमा गोठ सुधारका लागि २० हजार रुपियाँ सहयोग गरेको थियो । अहिले थप ६० हजार सहयोग गरेको कमलले बताउनुभयो । उहाँलाई वागमती प्रदेश सरकारले समेत व्यवसाय सञ्चालनका लागि ७५ हजार रुपियाँ सहयोग गरेको छ । कमल तथा कमला कार्कीले पशुपालन तथा कृषि व्यवसायमा राम्रो मिहिनेत गरेकोले गाउँपालिकाले सहयोग गरेको अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताउनुभयो । गाँउपालिकाले ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न किसानलाई सहयोग गर्दै आएको अध्यक्ष पोखरेलको भनाइ छ ।

उहाँको फर्ममा ४७ केजीसम्मको खसी रहेको छ । एउटा खसी बिक्रीबाट कम्तीमा २० हजार र बढीमा ४७ हजारसम्म लिएको कमलले बताउनुभयो । बोकालाई प्रजननमा लगाएर समेतउहाँले आम्दानी गर्नुभएको छ । उहाँले दूध, तरकारी र कुखुरा बिक्रीबाट समेत राम्रो आम्दानी गर्दै आएको देखिन्छ । शुरू–शुरूमा उत्पादन गरेको तरकारी तथा खसी, बाख्राहरू गाउँमै बिक्री गर्दै आएकामा अहिले सदरमुकाम चरिकोट र राजधानी काठमाडौं पुर्याउने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्