दीर्घ रोगीलाई अतिरिक्त खोप



काठमाडौं, (नेस) ।

सरकारले दीर्घ रोगीलाई लक्षित गरी कोरोना संक्रमणविरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर, एचआईभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका, अंग प्रत्यारोपण गरेको बिरामी र ६० वर्ष उमेर समूहभन्दा माथिकालाई अतिरिक्त मात्रा खोप दिने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले अतिरिक्त खोप दिने निर्णय भइसकेको पुष्टि गर्दै मिति तय गर्न भने बाँकी रहेको बताउनुभयो । प्रवक्ता मिश्राका अनुसार कोरोना संक्रमणविरुद्धको अतिरिक्त खोप नियमित खोप लगाएको तीन महिना पूरा भएकालाई खोप आवश्यक र तोकिएका व्यक्तिलाई उपलब्ध गराइनेछ भने बुस्टर मात्रा दुई मात्रा पूरा भएका सबै नागरिकलाई लगाइनेछ ।

उहाँका अनुसार खोप सल्लाहकार समितिले निर्णय गरेपछि अतिरिक्त मात्रा खोप उपलब्ध गराइनेछ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको सबै नागरिकलाई कोरोनाविरुद्धको बुस्टर खोप लगाउने घोषणाको आधारमा मन्त्रालयले बैठक बसी तत्काल अतिरिक्त मात्राको खोप दिने निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस्