स्वास्थ्यका मापदण्ड पालनासहित पर्व मनाउनु बुद्धिमानी : प्रधानमन्त्री देउवा



काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृति र सभ्यताको संरक्षण एवं संवद्र्धन गर्न नेपाल सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । उहाँले सो कुरा बिहीबार तमु ल्होसार २०७८ का अवसरमा आयोजित कार्यक्रममा बताउनुभएको हो । कार्यक्रममा उहाँले यस पर्वले तमु/गुरुङ समुदाय र विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

उहाँले यस पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पुर्याउँदै आएको योगदानलाई सबैसमक्ष उजागर गर्न र यस समुदायको सभ्यता र संस्कृतिलाई अरू समुदायसमक्ष चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । तमु (गुरुङ) समुदायले यसपटकको आफ्नो महान् चाड तमु ल्होसार ‘ल्वों ल्हो’ (गाई वर्ग) वर्षको बिदाइ तथा ‘तो ल्हो’ (बाघ वर्ग) वर्षको स्वागत गरी मनाइरहेका छन् ।

यसैबीच, प्रधानमन्त्री देउवाले विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ का कारणले सम्पूर्ण समाजलाई प्रभाव पारेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालनासहित यस पर्वलाई मनाउनु बुद्धिमानी हुने सुझाव पनि दिनुभयो ।

कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले यस पर्वले समुदायमा सामाजिक सद्भाव अभिवृद्धिका लागि योगदान पुग्ने बताउँदै तमु ल्होसारका अवसरमा सार्वजनिक बिदा दिएकामा नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभयो । नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद्का अध्यक्ष जगत बरामले अघिल्लो सरकारले बिदा कटौती गरेकामा दुःख व्यक्त गर्दै तमु ल्होसार राष्ट्रिय पर्व भएकाले यसलाई राष्ट्रिय क्यालेन्डरमा नै उल्लेख गरी नियमित सार्वजनिक बिदाको व्यवस्था गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्